ट्रेण्डिङ

होमपेज / समाज

बहुमूल्य जडीबुटी संरक्षणमा जुट्दै सल्यानको वनस्पति अनुसन्धान केन्द्र

  सल्यान खबर डेस्क २०७९ आश्विन ४ गते मंगलबार १८:०६:२९ मा प्रकाशित

 असोज ४,सल्यान

अव्यवस्थित सङ्कलन, चोरी निकासी र ज्ञानको कमीका कारण वन क्षेत्रमा पाइने बहुमूल्य जडीबुटी लोप हुन थालेका छन् । जलवायु परिवर्तन, आगलागी, लोपोन्मुख जडीबुटीको खेती, प्रविधि अभाव लगायत कारण पनि बहुमूल्य जडीबुटी लोप हुँदै गइरहेका छन् । 

जडीबुटीको महत्त्व थाहा नपाउँदा बहुमूल्य जडीबुटी दिन प्रतिदिन लोप हुन थालेका छन् । बहुमूल्य जडीबुटी लोप हुन थालेपछि सल्यानमा दुर्लभ तथा बहुमूल्य जडीबुटी तथा वनस्पति लोप हुन नदिन अध्ययन अनुसन्धान गरी संरक्षणको प्रयास सुरु भएको छ । स्थानीय किसानको सहभागितामा ५ सय ४७ प्रकारका दुर्लभ जडीबुटी संरक्षण तथा वनस्पति खेती र अध्ययन, अनुसन्धान थालिएको छ । 

वनस्पति अनुसन्धान केन्द्र सल्यानले साईटिसको सूचीमा परेका र कर्णाली प्रदेशका जिल्लामा पाइने विभिन्न प्रजातिका वनस्पति ल्याएर अध्ययन गरी संरक्षण गरिरहेको कार्यालय प्रमुख मित्र पाठकले जानकारी दिनु भयो । महत्त्वपूर्ण जडीबुटीको सङ्ख्या घट्दै गएकाले भविष्यमा यस्ता जडीबुटी लोप नहुन भनेर संरक्षणमा जुटी रहेको उहाँको भनाई छ । 

२०५६ सालमा सल्यानको मूलमानीमा स्थापना भएको केन्द्रले विभिन्न औषधिका रुपमा महत्त्वपूर्ण मानिएका ३ सय ७५ प्रजातिका वनस्पति संरक्षण गर्दै आएको थियो । अहिले ५ सय ४७ प्रजातिका दुर्लभ तथा लोपोन्मुख जडीबुटी र वनस्पतिको अध्ययन गरी संरक्षणमा जुटेको पाठकको भनाई छ । उहाँले भन्नु भयो । विगतका भन्दा पछिल्लो समय हामीले अनुसन्धान गरेर लोपोन्मुख जडीबुटी र वनस्पति संरक्षण गरी रहेका छौँ । ती मध्ये २ सय ४५ वनस्पति तथा जडीबुटी औषधीय गुण भएका छन् । 

विभिन्न जडीबुटी र वनस्पतिको अध्ययन र अनुसन्धानका लागि अनुसन्धानकर्ता तथा शैक्षिक भ्रमणका लागि विद्यार्थी पनि केन्द्रको उद्यानमा आउने गरेको वनस्पति अनुसन्धान केन्द्र वनस्पति सहायक गोपाल शर्माको भनाई छ । 

उद्यानमा समग्र कर्णाली चिनाउन र दुर्लभ जडीबुटीको संरक्षण गरी यसलाई औषधिका रुपमा विकास गर्दै जाने योजनाका साथ काम भइरहेको उहाँको भनाई छ । 

पाँच दशमलव पाँच हेक्टर क्षेत्रफलमा फैलिएको  वनस्पति उद्यानमा श्रीखण्ड, बिजयसाल, सतिसाल, सुगन्धवाल, चिराइतो, कुरिलो, घिउकुमारी, सुनाखरी , लौठसल्ला, केशर, सुगन्ध कोकिला, सर्पगन्धा, अश्वगन्धा, पिपल लगायत वनस्पति संरक्षण गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top