होमपेज / समाज
भदौ १३, सल्यान ।
सल्यानको बागचौर नगरपालिका २ बागचौरमा बागचौर लिफ्ट खानेपानी आयोजना उद्घाटन गरिएको छ ।कर्णाली प्रदेश सरकार र जिल्ला खानेपानी सिचाइ तथा ऊर्जा विकास कार्यालय सल्यानको आर्थिक सहयोगमा निर्माण गरिएको लिफ्ट खानेपानीको आज एक कार्यक्रमका बिच उद्घाटन गरिएको हो ।
बागचौर लिफ्ट खानेपानी आयोजनाको उद्घाटन कार्यक्रममा बोल्दै कर्णाली प्रदेशका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री तथा नेकपा एकीकृत समाजवादीका उप-महासचिव प्रकाश ज्वालाले स्वच्छ खानेपानी खान पाउने जनताको आधारभूत आवश्यकता भएको बताउनुभएको छ । खानेपानीको विषयमा सरकारले ध्यान दिन आवश्यक रहेको उहाँको भनाइ छ । सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले विकास निर्माणका विषयमा दायित्व बोध गर्दै आ(आफ्नो भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । ‘उपभोक्ताहरूले पनि आफ्नो अधिकारका बारेमा सोच्नुपर्छ तर अधिकार खोज्दै गर्दा निर्माण भएका विकाश निर्माणका कुराहरूलाई संरक्षण समेत गर्नुपर्ने उहाँको भनाइ छ ।’ विकास निर्माणका सवालमा सम्पूर्ण राजनीतिक दल सबै सँग समन्वय गरी अगाडि बढ्नुपर्ने उहाँको भनाइ छ ।
लिफ्ट खानेपानी आयोजनाको उद्घाटन कार्यक्रममा बोल्दै बागचौर नगरपालिकाका नगर प्रमुख जनकराज गौतमले खानेपानीको क्षेत्रमा जति समस्याहरू र चुनौतीहरू छन् त्यति नै अवसरहरू पनि रहेको बताउनुभएको छ । हामी सँग सीमित श्रोत साध छन् । समस्या र आवस्यक्ताहरु धेरै छन् । अब बागचौर नगरपालिका भित्र खानेपानीको क्षेत्रका समस्याहरूको पहिचान गरी अगाडि बढ्न प्रतिबद्ध रहेको उहाँको भनाइ छ । हामी यस्तै लिफ्ट खानेपानी अगाडि बनाउन प्रदेश सरकार र सङ्घीय सरकार सँग विशेष पहल गर्ने छौँ उहाँले भन्नुभयो ।
उद्घाटन कार्यक्रममा बोल्दै बागचौर नगरपालिकाका उप(प्रमुख सुम्निमा डि.सी. ले स्वास्थ्य, खानेपानी र भौतिक पूर्वाधारको हिसाबले बागचौर नगरपालिका अगाडि बढेको बताउनुभएको छ । विकास निर्माणको सवालमा यो नगरपालिकाले अग्रगामी छलाङ मारेको उहाँको भनाइ छ ।
यस्तै लिफ्ट खानेपानी आयोजनाको उद्घाटन कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य भिमप्रकास शर्माले लिफ्ट खानेपानी र लिफ्ट सिचाइ चैत र वैशाखमा पनि चल्न सक्नुपर्ने बताउनु भएको छ । यो खानेपानी आयोजनालाई सफल बनाउन सम्पूर्ण उपभोक्ताहरू सक्रिय हुन आवश्यक रहेको उहाँको भनाइ छ ।
लिफ्ट खानेपानी आयोजनाको उद्घाटन कार्यक्रममा बोल्दै जिल्ला खानेपानी कार्यालय सल्यानका प्रमुख पदमराज देवकोटाले यो आयोजनाको निर्माण गर्दा कुल ३ करोड १६ लाख बजेट मध्य रु १ करोड ९० लाख खर्च भएको र जनश्रमदान २० प्रतिशत भएको बताउनुभएको छ । कार्यक्रममा बोल्दै उहाँले १०० घन मिटरको ट्याङ्की बागचौर बजार माथि रहेको, ७० घन मिटरको ट्याङ्की बेसमा रहेको र ३० घन मिटरको ट्याङ्की जिउँला गाउँ माथि रहेको बताउनुभएको छ ।
लिफ्ट खानेपानी आयोजनाको उद्घाटन कार्यक्रममा बोल्दै लिफ्ट खानेपानी आयोजनाका अध्यक्ष ज्ञानेश्वर के.सी. ले यस आयोजनाबाट नगर भित्रका बागचौर बजार, थारमारे बजार, जिउँला र मिलन डाँडाका ४०० घरधुरीले शुद्ध खानेपानी खान पाउने बताउनुभएको छ । यो खानेपानी एक हजार घरधुरीमा बिस्तार गर्ने र उपभोक्ताहरूलाई शुद्ध खानेपानी उपलब्ध गराउने प्रमुख लक्ष्य रहेको उहाँको भनाइ छ । कार्यक्रममा बोल्दै उहाँले बागचौर लिफ्ट खानेपानी आयोजनालाई सफल बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने पहलकर्ता, उपभोक्ताहरू, खानेपानी समितिका सदस्य लगायत सबैलाई धन्यवाद समेत व्यक्त गर्नुभयो ।
उपभोक्ता रोजी बुढाथोकीले खानेपानी आएपछि धेरै सहज भएको बताउनुभएको छ । ‘एक गाग्री पानीका लागि धारामा गएर घन्टै लाइन लाग्नुपर्ने बाध्यता अब हट्यो। अहिले घरमै पानी आएपछि समयको बचत पनि भयो, करेसा बारीमा तरकारीका लागि सिचाइ समेत हुनेभएकोले अब धेरै सहज हुनेछ उहाँले भन्नुभयो ।’





.jpg)