ट्रेण्डिङ

होमपेज / समाज

तुल्सीपुर–सल्यान कालीमाटी –सुर्खेत सडक अलपत्र

  सल्यान खबर डेस्क २०७९ असार २९ गते बुधबार १५:१२:२० मा प्रकाशित

 असार २९,सल्यान

मदन भण्डारी राजमार्ग अन्तर्गत पर्ने तुलसीपुर–सल्यान कालीमाटी –सुर्खेत सडक खण्ड ठेकेदारको लापरबाहीले अलपत्र परेको छ । २०७८ असार २० मा सम्पन्न हुनु पर्ने सडक सम्झौता सकिएको १ वर्ष बितिसक्दा समेत आधा काम सम्पन्न हुन सकेको छैन ।  पिच गरिएका ठाउँमा कालोपत्रे उप्किएको छ भने १७ किलोमिटरभन्दा बढी सडकमा कालोपत्रेको काम गर्न बाँकी छ । 

सडकको समयमै स्तरोन्नति नहुँदा कालीमाटीवासीले सास्ती भोग्दै आइरहेको स्थानीय देवीलाल वलीले बताउनु भयो । ठेकेदार कम्पनीले जति चुस्तद्रुस्त गतिमा काम गर्नु पर्ने हो त्यो गर्न नसकेको उहाँको भनाई छ । कम्पनीले सडक छेउमा बालुवा गिट्टी थुपार्दा झनै जोखिम बढेको वलीको भनाई छ । 

पाँच वर्षमा सडक पिच गर्ने भनिए पनि ६ वर्ष भन्दा बढी बितिसक्दा समेत आधा काम हुन नसकेको कमला रावतको भनाई छ । निर्माण भएको सडक पनि गुणस्तरीय नभएको उहाँको भनाई छ । उहाँले भन्नु भयो ‘झारा टार्ने हिसाबले ठेकेदार कम्पनीले काम गरी रहेको छ । गुरुले भत्काउने नाली कस्तो हुन्छ तपाईँ आफै बिचार गर्नुहोस् ।’ 

वि.स. २०७४ असार २० गते सुरु भएर २०७८ असार २० मा सम्पन्न गर्नुपर्नेमा अहिलेसम्म ठेकेदार कम्पनीले काम नगर्दा सडक अलपत्र परेको छ । एक पटक म्याद थप भइसकेको छ भने फेरि म्याद थप्ने तयारी भइरहेको छ । तर, ठेकेदार कम्पनीको काम नगर्दा नागरिकलाई सास्ती भएको छ  ।

सडक डिभिजन कार्यालय दाङले सडक कालोपत्रे गर्न ४४ करोड बजेट  विनियोजन गरेको थियो । कार्यालयले गरेको टेन्डर अनुसार कालिका जेभी कन्स्ट्रक्सने कामको जिम्मेवारी पाएको हो । लगातार दुई वर्ष कोरोनाका कारण र कच्चा पदार्थको अभावमा काम गर्न नसकेको ठेकेदार कम्पनीले बताएको छ । अझै कालोपत्रेको काम गर्न बाँकी रहेकाले सडक साँघुरो हुँदै जाँदा दुर्घटनाको जोखिम समेत बढेको छ । कालोपत्रे गरेको ठाउँमा पनि गुणस्तरीय काम नगर्दा कालोपत्रे उप्किएको कालीमाटी गाउँपालिका १ का वडाध्यक्ष रविलाल बस्नेतले बताउनु भयो ।  । अगाडी कम्पनीले काम गरी रहेको जस्तो गरी रहेको छ तर पछाडीबाट कालोपत्रे उप्किँदै गइरहेको छ उहाँले भन्नु भयो । 

ठेकेदार कम्पनीले चार वर्षको अवधिमा २७ किलोमिटर सडक कालोपत्रे गर्नुपर्नेमा झन्डै १० किलोमिटर मात्र गरेको कालीमाटी गाउँपालिका प्रमुख दान बहादुर खत्रीले बताउनु भयो । ठेकेदार कम्पनीलाई बारम्बार ताकेता गर्दै आए पनि कामलाई निरन्तरता नदिएको उहाँको गुनासो रहेको छ  । उहाँले भन्नु भयो ‘निमार्ण कम्पनीले यस सडक निर्माणका जति छिटो छरितो, गुणस्तरीय काम गर्नु पर्ने हो त्यो गर्न सकेको छैन । कामलाई छिटो छरितो र गुणस्तरीय गर्न निर्माण कम्पनीसँग प्रत्यक्ष भेटेर कुराकानी गर्दा पनि कुनै सुनुवाइ भएको छैन ।’ 

सरकारले उक्त सडक एक दशक पहिलेदेखि कालोपत्रे गर्न सुरु गरेको हो । तुलसीपुरदेखि सुर्खेतको बोटेचौरसम्म चार प्याकेज बनाएर झन्डै एक अर्ब बजेट विनियोजन गरेर सरकारले ठेकेदार कम्पनीमार्फत काम गराएको थियो । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top