होमपेज / समाज
असार २०,सल्यान
सल्यानमा चालु आर्थिक वर्ष २०७८ ०७९ को साउनदेखि जेठसम्मको ११ महिनामा जिल्लाभर १ सय १० सवारी दुर्घटना भएका छन् । विभिन्न किसिमका सवारीसाधन दुर्घटना हुँदा ३१ जनाको मृत्यु भइसकेको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ ।
ट्राफिक कार्यालयका अनुसार दुर्घटनामा परी २ सयभन्दा बढी घाइते भएका छन्‚ जसमा ५० जना गम्भीर घाइते भएका छन् ।
सम्बन्धित निकायले बारम्बार सवारी दुर्घटना न्यूनीकरण कार्यक्रम सञ्चालन गर्दै आएको छ । चालक, सहचालकलाई सडकमै गाडी रोकेर दुर्घटना न्यूनीकरण र ट्राफिक नियमबारे जानकारी गराउँदै आएको भएपनि सल्यानमा सवारी दुर्घटनामा भने कमी आएको छैन । सडकको दुरावस्था, चालकको लापरबाही तथा जति ट्राफिक नियमसम्बन्धी सचेतनामूलक कार्यक्रम गरे पनि त्यसलाई पालना नगरी बेवास्ता गर्दा जिल्लामा दुर्घटनामा कमी नआएको हो ।
सडकको दुरावस्थाबारे जानकारी हुँदाहुँदै पनि केही बढी रकम कमाउने लालचमा परी एक आपसमा प्रतिस्पर्धा गर्ने, तीव्र गतिमा गाडी तथा मोटरसाइकल चलाउने, क्षमताभन्दा बढी यात्रु गाडीमा हाल्ने गर्दा जिल्लावासीहरूले अकालमा ज्यान गुमाउनु परेको छ भने धेरै अपाङ्ग भएर बस्नु परेको छ ।
सडकको दुरावस्था, चालकको लापरबाही, मादक पदार्थ सेवन गरेर सवारी चलाउने र पुराना गाडी भएकाले दुर्घटनामा नरोकिएको जिल्ला ट्राफिक कार्यालय सितलपार्टीका नि. इन्चार्ज थमन डाँगीले बताए । यस आवको १० महिनामा बस १७, ट्रक १०, ट्याक्टर १५, जिप र कार २८ मोटरसाइकल ३६ र अन्य ११ सवारी दुर्घटनामा परेको उनले जानकारी दिए । उनका अनुसार गत वर्ष १ सय ४३ वटा सवारी दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको थियो । यो वर्ष दुर्घटनामा केही कमी देखिए पनि मृत्यु हुनेको सङ्ख्या झन्डै तेब्बरले बढी छ ।
ट्राफिक नियम पालना गर्न कडाइ गर्दै आएको र पालना नगरेकालाई कारबाही गर्दै आए पनि नियम पालना गरेको खासै नदेखिएको उनले जानकारी दिए । ‘ट्राफिकले प्रत्येक दिन चालक तथा व्यवसायीलाई बोलाएर सचेतनामूलक कार्यक्रम गर्दै आएको छ उनीहरू एक छिन सुन्छन् त्यसपछि बिर्सिन्छन्‚’ उनले भने‚ ‘जबसम्म जीवन अमूल्य छ र यो हाम्रा लागि हो भन्ने कुरा चालक, व्यवसायीलगायत अन्यले बुझ्दैनन् तबसम्म प्रहरी र ट्राफिकको एक्लो प्रयासबाट मात्र दुर्घटना नियन्त्रण कहिले हुँदैन ।’
जिल्ला प्रहरी कार्यालय सल्यान प्रहरी निरीक्षक विक्रम कुँवरले आफू जिल्लामा आएको धेरै नभएकाले खासै अध्ययन गर्न नपाए पनि सडकको अवस्था र सवारीमा क्षमताभन्दा बढी यात्रु राख्दा दुर्घटना बढेको हुन सक्ने बताएका छन् । बढी कमाउने लालचमा आपसमा अस्वस्थ प्रतिस्पर्धा पनि दुर्घटनाको कारण हुन सक्ने उनले बताए ।
उनका अनुसार गाडी चलाउनुभन्दा पहिले चालकले गाडको अवस्था जाँच गर्न आवश्यक छ । गाडीको अवस्था हेरेर कति भार वहन गर्ने त्यो पनि जान्न आवश्यक छ । चालकलाई चेतनामूलक कार्यक्रम, ट्राफिक नियम पालनाका विषयमा जानकारी गराउँदै आए पनि खासै पालना गरेको नदेखिएको र चालकले मतलब नगरे पनि सचेतनामूलक कार्यक्रम भने दैनिक जसो गरिरहेको उनको भनाइ छ ।
दैनिक जसो गाडी दुर्घटनामा परेर मानवीय क्षति हुँदै आए पनि सम्बन्धित निकायले भने सडक खन्न जान्ने तर स्तर वृद्धिका लागि खासै चासो नदेखाएको जिल्लावासीले गुनासो गरेका छन् । राप्ती राजमार्गलगायत जिल्लाका ग्रामीण सडकको स्तर वृद्धिका लागि बारम्बार माग राख्दै आए पनि बजेट कम भएको भन्दै सम्बन्धित निकायले बेवास्ता गरिरहेको त्रिवेणीका निर्मल भण्डारीले बताए ।
ekantipur





.jpg)