ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा लोप हुँदै परम्परागत गहना

  सल्यान खबर डेस्क २०७८ चैत्र २७ गते आइतबार १६:३४:१९ मा प्रकाशित

चैत २७,सल्यान 

सल्यानमा परम्परागत गरगहना लोप हुँदै जान थालेका छन् । नाकमा लगाउने बुलाकी, निधारमा लगाउने टिकी, घाँटीमा लगाउने ढुङ्ग्री, चापकी, कम्पनी माला, चवानी माला, ठुमराई माला लगायतका परम्परागत गहना लोप हुने अवस्थामा पुगेका छन् । 

पुरानो पुस्ताले लगाउने परम्परागत शैलीका गरगहना आधुनिक गहनाको प्रचलनसँगै लोप हुने अवस्थामा पुगेका छन् । पुराना गरगहना पाउन नै छोडेका कारण लोप हुने अवस्थामा पुगेको बुढापाकाहरूको भनाई छ । नयाँ पुस्ताले आधुनिक डिजाइनका गहना प्रयोग गर्न थालेसँगै पुराना गहना विस्थापित हुन थालेको बनगाड कुपिण्डे नगरपालिका – ४ डोप्केकी ५९ वर्षीया सर्केनी बस्नेतले बताइन । महिलाले लगाउने चाँदीका चवानी, ठुमराई, सिक्री, कम्पनीका माला, बुलाकी, नत्थी, ढुङ्ग्री लगायतका गहना अहिले कसैले पनि लगाउँदैनन् । 

नाकमा बुलाकी, पाते सुन, चापकी लगाउने महिला गाउँघरमा फाटफुट देखिने गरे पनि अन्य गहना लोप हुने अवस्थामा परेको ५८ वर्षीया ललि बुढाको भनाई छ । उनले भनिन ‘पुरानै रिति संस्कार गरम भनेर मैले त अहिलेसम्म पुरानै गहना लगाउँदै आएकी छु । अब बाचुन्जेलसम्म यही गहना लगाएर मर्न मन छ ।’ सहर बजारमा नयाँ नयाँ डिजाइनका गरगहना पाइए पनि आफूलाई पुरानै गहना लगाउँदा आनन्द आउने उनले बताइन । 

सानै उमेर विवाह गरी आउँदा सासुले दिएका गहना भएकाले पनि पुराना गहना त्याग्न नसकेको बुढाको भनाई छ । नेपालगन्ज हाट जाँदा चाँदीका सिक्री, कम्पनी माला किनेर ल्याउने गरेको उनले बताइन । अहिले ती गहना कतै पनि नपाइने र ती गहना बनाउने मान्छे समेत नपाइने बुढाको भनाई छ । उनले भनिन ‘अहिले छोरी बुहारीलाई यस्ता गहना मन पर्दैन । उनीहरूलाई बजारमा आएका नयाँ नयाँ गहना चाहिन्छ ।’ 

प्रतिक्रिया

सम्बन्धित खवर

Top