ट्रेण्डिङ

होमपेज / समाज

वैदेशिक रोजगारका नाममा दलालबाट ठगिदै सल्यानका युवा

  सल्यान खबर डेस्क २०७८ फाल्गुण २० गते शुक्रबार १५:५७:४५ मा प्रकाशित

सल्यान — छत्रेश्वरी गाउँपालिका १ का वर्ष २० का राजेश विकले कतार जान भन्दै म्यान पावर कम्पनी जिडिसि ओरल्ड वाइड पिभिटी सिनामंगलमा कार्यरत शम्भु तामाङलाई ५० हजार बुझाए । ०७५ मा ५० हजार बुझाएको दुई वर्ष बितिसक्यो न त अहिलेसम्म उनको भिसा आएको छ, नत उनले रकम नै फिर्ता पाएका छन् । उनले म्यानपावर कम्पनीमा गएर बारम्बार आग्रह गरे पनि कम्पनीले विभिन्न बहाना बनाई टार्दै आएको छ

शारदा नगरपालिका ९ का रोमर्श बुढाथोकीले भिजिट भिसाबाट रोजगारीका लागि दुबई जान ०७५ मै एक म्यानपावर कम्पनीका एजेन्ट सुमन श्रेष्ठलाई २ लाख १५ हजार बुझाएका थिए । तीन वर्ष बित्न थालिसक्दा पनि उनको अहिलेसम्म भिसा आएको छैन । भिसा नआएपछि उनले रकम फिर्ताका लागि दाबी गरे तर अहिलेसम्म रकम पाउन सकेका छैनन् । बारम्बार माग राख्दै आउँदा पनि उनले विभिन्न बहाना बनाई टार्दै आएपछि अहिलेसम्म उनले रकम फिर्ता पाउने आसै गर्न छाडेका छन । कम्पनीमा काम गर्ने ब्यक्तिले अहिलेसम्म रकम फिर्ता नगरेपछि बेरोजगारीको समस्याले प्रभावित हुँदै आएका उनी अर्को कम्पनीबाट साउदी गएका छन्  

यस्तै एक वर्षअघि रोजगारीका लागि कतार जाने तयारी गरेका शारदा नगरपालिका ५ का वर्ष २८ का नरेन्द्रकुमार बोहराले भिसाको लागि म्यानपावर कम्पनीका एजेन्ट भनेर चिनिने पुरन रेउलेलाई १ लाख ५० हजार बुझाएका थिए । उनको पनि अहिलेसम्म भिसा आएको छैन भने रकमसमेत फिर्ता पाउन सकेका छैनन । म्यानपावर कम्पनीका एजेन्ट नै सम्पर्कविहीन भएका कारण उनी थप समस्यामा परेका छन् ।

यी तीन मात्र नभई वैदेशिक रोजगारीमा जाने तयारी गरेका जिल्लाका दर्जनौं पुरुषहरू दलालका कारण ठगिएका छन । ठगिएकाहरूले अहिलेसम्म रकम फिर्ता पाउन सकेका छैनन् । राम्रो कम्पनीमा काम लगाइदिने भन्दै लालच देखाएर पहिले रकम असुलेका तर पछि सम्पर्कविहीन हुँदा दलालको चंगुलमा परेर जिल्लाका युवाहरू ठगिएका हुन् ।

परिवार पाल्न कठिनाइ हुने भन्दै जिल्लाका अधिकांश पुरुषहरू वैदेशिक रोजगारीका लागि वैधानिकभन्दा बढी अवैधानिक तरिकाले साउदी अरब, कतार, यूएई, मलेसिया लगायत मुलुकमा जान बाध्य हुँदै आएका छन् । प्रमाण नभएकै कारण दलाल तथा कम्पनीबाट ठगिएकाहरूले सम्बन्धित निकायमा गएर मुद्दा दिनसमेत सकेका छैनन् । जसका कारण उनीहरूले विभिन्न किसिमका समस्या भोग्दै आएका छन् । कतिले त बैंक तथा आफन्तबाट चर्को ब्याजदरमा लिएको रकम तिर्न नसक्दा भएका जिमिनजग्गासमेत गुमाइसकेका छन् । शारदा नगरपालिका ९ की शारदा बुढाथोकीले आफ्ना श्रीमान् रोमर्श बुढाथोकी म्यानपावर कम्पनीका दलाल सर्लाहीका सुमन श्रेष्ठकै कारण ठगिएको बताइन । दलालले तनी वर्षअघि लगेको २ लाख १५ हजार अहिलेसम्म फिर्ता नगरेको उनले जानकारी गराइन् । ‘मैले रोजगारीका लागि श्रीमान खाडी मुलुक जाने तैयारी गरेपछि आफन्त तथा संघसस्थाबाट दुई लाख ऋण लिएको थिए । मेनपावर कम्पनीका एजेन्ट रहेका श्रेष्ठलाई बारम्बार भेट्न खोज्दा उनले कहिलेकता र कहिले कता भएको भन्दै टार्दै आएका छन्,’ उनले भनिन्, ‘पैसा फिर्ता नगर्दा ब्याज तिर्न धौधौ भएको छ । रकम दिएको प्रमाण तथा कागजपत्र नभएकाले कानुनी प्रक्रियाका लागि अगाडि बढ्न सकेको छैन’ । विश्वासमा पर्दा म्यानपावर कम्पनीका एजेन्टका रूपमा रहेका दलाल श्रेष्ठले धोका दिएको उनको भनाइ छ ।

छत्रेश्वरी गाउँपालिका ७ पाखापानीका नारायण बुढाथोकीले आफनो छोरा कैलाश बुढाथोकीलाई साउदी पठाउन भिसाका लागि मात्र अल्साइड म्यानपावर कम्पनी सामाखुसीलाई १ लाख ८० हजार बुझाएका थिए । समयमै रोजगारीको लागि साउदी नपठाउँदा जिल्ला प्रशासनमा उजुरी दिएपछि भिसाका लागि रकम दिएको तीन वर्षपछि मात्र म्यानपावर कम्पनीले साउदी पठाए पनि भनेअनुसारको काम नपाई धेरै दुःख पाएको बताए ।

म्यानपावर कम्पनीले पिजा बनाउने कम्पनीमा पठाउने भने पनि त्यहाँ राम्रो काम नपाएपछि भागेर अन्यत्र काम गर्दा अवैधानिक भएकै कारण त्यहाँको प्रहरीले पक्राउ गरेको र थप ५८ हजार खर्च गरेर प्रहरीबाट छुटाएर नेपाल फर्काएको उनले जानकारी गराए । ‘साउदी जाँदा १० हजार मात्र लाग्ने भए पनि भिजिट भिसामा छोरालाई पठाउँदा र जेलबाट निकालेर घर ल्याउँदासम्म ३ लाख १५ हजार खर्च भइसकेको छ,’ उनले भने, ‘मैले केही कमाइ गर्ला त भनेर स्थानीय केही ब्यक्तिबाट ऋण लिएर छोरालाई साउदी पठाए । म्यानपावर कम्पनीकै कारण तीन महिना नबित्दै छोरालाई फर्काउनुपरेपछि लिएको ऋण तथा ब्याज तिर्न गाह्रो भएको छ ।’ छत्रेश्वरीमा मात्रै दलालका कारण १२ जनाभन्दा बढी ठगिएका उनको भनाइ छ ।

बेरोजगारीका लागि सरकारले विभिन्न रोजगारमूलक कार्यक्रम ल्याए पनि नेताको पहुँच भएकामा मात्र सीमित रहेकाले बिदेसिनुपर्ने अवस्था आएको पूर्णबहादुर चलाउने बताए । ‘हामीलाई खाडी मुलुकमा गएर ज्यान जोखिममा पारे काम गर्ने रहर होइन । बाध्यता भएको छ,’ उनले भने, ‘जिल्लामै रोजगारको व्यवस्था भए र सम्बन्धित निकायले अवस्थाअनुसार कामको सिर्जना गरे खाडी मुलुक जानुपर्ने बाध्यता आउने थिएन ।’

कम्पनी तथा दलालले सोझासाझा पाएर मासिक ७०/८० हजारसम्म कमाइ हुने राम्रो कम्पनीमा काम लगाइदिने भन्दै लालच देखाई जिल्लाका युवालाई ठगेको सुरक्षित वैदेशिक रोजगारका लागि आप्रवासी स्रोत केन्द्र सल्यानकी सूचना परामर्शकर्ता सीमा चन्द शाहले बताइन् । विदेशमा गएका र जाने क्रममा ठगिएका झन्डै ७० जनाले कार्यालयमा निवेदन दिएका छन् । अन्य पनि धेरै ठगिएका तर रकम दिएको प्रमाण नभएकाले मुद्दा दिन नसकेका उनले जानकारी गराइन् ।

ekantipur

प्रतिक्रिया

सम्बन्धित खवर

Top