होमपेज / समाज
फागुन १२,सल्यान
सल्यान – रोल्पा जोड्ने सडकको बागचौरको जंगारखोलामा पक्की पुल निर्माण हुने भएको छ । जिल्लाको बागचौर नगरपालिका –२ र ८ को शारदा नदीको जंघारमा पक्की पुलको शिलान्यास गरिएको हो ।
कर्णाली प्रदेश र लुम्बिनी प्रदेशलाई जोड्ने उक्त सडकको बिहीबार कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार भीम प्रकाश शर्मा र बागचौर नगरपालिकाका मेयर लोकमान बुढाथोकीले सयुक्त रुपमा पुलको शिलान्यास गरेका छन् ।
पुल शिलान्यास गर्दै पूर्व मुख्यमन्त्री महेन्द्र बहादुर शाहीका प्रमुख राजनीतिक सल्लाहकार भीम प्रकाश शर्माले सल्यान र रोल्पाको विकासमा प्रदेश सरकारको विशेष प्राथमिकता दिएको बताए । यस सडकले पालिका मात्र नजोडी दुई प्रदेशलाई जोड्ने भएकाले प्रदेशको गौरवको आयोजना भएको बताए । यस्तै मेयर लोकमान बुढाथोकीले पुल बनेपछि धेरै समस्याको समाधान हुने बताए । स्थानीय जनताको जीवनस्तरमा परिवर्तन ल्याउन पनि यस पुलले ठुलो भूमिका खेल्ने उनको भनाई छ ।
चार वर्षमा सम्पन्न गर्ने गरी प्राकृतिक निसान जेभि रुपन्देही भैरहवाले ३ करोड ६२ लाखको लागतमा २०७८ असार २७ गते सम्झौता गरेको थियो । चार वर्षको अवधि भए पनि आउँदो आर्थिक वर्षभित्रमा पुल निर्माण सम्पन्न गर्ने गरी काम अघि बढाइने निर्माण कम्पनीले जनाएको छ ।
.२०६० सालमा ट्र्याक खुले पनि अहिलेसम्म बागचारै पातिहान्न सडकको स्तरोन्नति भने हुन सकेको छैन । पुल निर्माण भएपछि आवतजावत गर्न निकै सहज हुने स्थानीय सर्गम वलीले बताए । पुल नहुँदा वर्षातको समयमा सवारी आवतजावत बन्द हुँदै आइरहेको थियो । उनले यो क्षेत्रमा पुलको अति आवश्यक महसुस गरी पुल निर्माणमा सहयोग गरेकोमा पूर्व मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार भीम प्रकाश शर्मालाई धन्यवाद दिए । उनले भने पुल नहुँदा नदीबाट वारपार गर्दा स्थानीयले निकै सास्ती व्यर्होदै आइरहेका थिए । अब पुल बन्यो भने निकै सहज हुने छ ।
मोटर बाटो र पुलबाट यस क्षेत्रको समग्र आर्थिक र सामाजिक विकासमा धेरै परिवर्तन हुने विश्वास यहाँका जनताले लिएको वलीको भनाई छ ।





.jpg)