ट्रेण्डिङ

होमपेज / समाज

म्याद थप नहुँदा सल्यानका दुई खानेपानी योजना अलपत्र

  सल्यान खबर डेस्क २०७८ फाल्गुण १० गते मंगलबार १४:४२:३० मा प्रकाशित

सल्यान — छत्रेश्वरी गाउँपालिकाले संघीय विशेष अनुदानमा गतवर्ष सुरु गरेको दमाचौर र लान्तीका दुई लिफ्ट खानेपानी योजना अलपत्र परेका छन् । निर्माण अवधि एक वर्षको मात्र रहेको र म्याद थप नभएका कारण ठेकेदारले काम गर्न छाडेपछि दुईवटा लिफ्ट खानेपानी योजनाको काम अलपत्र परेको हो ।

संघीय विशेष अनुदानअन्तर्गत संघले छत्रेश्वरी गाउँपालिका १ दमाचौरका लागि १ करोड र लान्तीका लागि दुई करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो । पालिकाले आह्वान गरेको टेन्डरअनुसार मस्टा जेभी काठमाडौंले २०७८ फागुनमा दमाचौरको लिफ्ट खानेपानीका लागि ६१ लाख र लान्तीको लिफ्ट खानेपानीको लागि मंसिरमा १ करोड २२ लाख रुपैयाँमा सम्झौता गरेको थियो ।

योजना अलपत्र पर्दा दमाचौरका ४ सय ३ र लान्तीका झन्डै ३ सय परिवार प्रभावित भएका छन् । योजना अलपत्र परेपछि अहिले स्थानीयहरू बस्तीबाट लामो बाटो हिँडेर पुराना मुहानबाट ल्याएको पानी पिउन बाध्य छन् । खानेपानीका लागि उनीहरूले विभिन्न किसिमका समस्या भोग्नुपरेको छ । योजनाको कामको काम गर्ने अवधि सकिएपछि ठेकेदारले ल्याएका सामग्री अहिले त्यत्तिकै थन्किएका छन् ।

ठेकेदार कम्पनीले काममा ढिलाइ गरेका कारण योजनाको काम सम्पन्न गर्ने अवधि सकिएकै कारण लिफ्ट खानेपानी योजना अलपत्र परेपछि घरमै धारामा पानी भर्न पाउने सपना अधुरो भएको दमाचौरकी निर्मला शाहले बताइन् । उनले खानेपानीका लागि विगतदेखि नै विभिन्न समस्या भोग्दै आएको र एक गाग्री पानीका लागि लामो समय मुहानमा कुर्नुपर्ने अवस्था रहेको जानकारी दिइन् । ‘योजना सञ्चालन भएपछि घरमै पानी भर्न पाइने भन्दै खुसी लागेको थियो‚’ उनले भनिन्‚ ‘काम बिचैमा रोकिएपछि पानीको समस्या जहाँको त्यहिँ हुँदा खुसी हराएको छ ।’

विमला घर्तिले योजनाको काम बोरिङ्गमै सीमित रहेपछि अहिले पनि शारदा नदी आसपासका मुहानबाट पानी ल्याएर खानुपर्ने अवस्था रहेको बताइन् । खानेपानीकै लागि विभिन्न किसिमको कष्ट उठाउँदै आएको उनले जानकारी गराइन् । ‘गर्मीको समयमा मुहानमा पानी कम हुँदा रातबिरात नभनी पानी लिन जानुपर्छ‚’ उनले भनिन्‚ ‘कहिलेकाहिँ विभिन्न किसिमका जोखिम उठाउनुपर्ने हुन्छ ।’

योजनाको काम झन्डै ५० प्रतिशत जति सकेर ठेकेदार सम्पर्कविहीन भएको छत्रेश्वरी गाउँपालिका १ का वडाअध्यक्ष नेबबहादुर शाहले बताए । योजनाको टंकी निर्माण गरेको र पाइपलाइन विस्तारका लागि पाइप खरिद गरी ल्याए पनि ती सामग्रीहरू झन्डै ६ महिनादेखि त्यत्तिकै थन्किएको उनले जानकारी दिए । उनका अनुसार छत्रेश्वरी गाउँपालिका १ को दमाचौर , काल्चे, कर्णेगाउँ, चिन्याखर्कका स्थानीयका लागि योजना संचालन गरिएको थियो । योजनाको काम अगाडि बढ्न नसकेपछि ४ सयभन्दा बढी परिवार प्रभावित भएका छन् ।

छत्रेश्वरी गाउँपालिका सल्यानका प्रमुख प्रशासकीय अधिकृत प्रेमप्रकाश दाहालले योजनाको काम गर्ने अवधि एक वर्षको मात्र भएको र ठेकेदारले समयमै काम गर्न नसक्दा बजेट फिर्ता गएको र पुनः म्याद नथपिएका कारण योजना अलपत्र परेको बताएका छन् । योजनाका लागि ठेकेदारले खरिद गरी ल्याएका सामग्री त्यत्तिकै थन्किएको उनले जानकारी दिए ।

उनका अनुसार ठेकेदारले दमाचौरको लिफ्ट खानेपानी योजनाको २७ लाख रुपैयाँ बराबरको र लान्तीको ६० लाख रुपैयाँ बराबरको काम सकेको छ । बजेट अभावमा अहिलेसम्म ३५ लाखभन्दा बढी भुक्तानी दिन सकिएको छैन ।

ठेकेदार कम्पनीका ठेकेदार पदमबहादुर तामाङले भने काम गरेअनुसार भुक्तानी नदिएको र सामान ल्याएर राखे पनि म्याद सकिएकाले काम गर्न नसकेको बताएका छन् । उनले काम गरेअनुसारको भुक्तानी रकम उपलब्ध गराउन आग्रह गरेका छन् ।

ekantipur.com

प्रतिक्रिया

सम्बन्धित खवर

Top