होमपेज / समाज
फागुन ९,सल्यान
मतदाता परिचयपत्र हराएको नागरिकले २० फागुनभित्र निवेदन दिन सक्ने व्यवस्था रहेको छ । जिल्ला निर्वाचन कार्यालय सल्यानमा आएर निवेदन दिन सक्ने कार्यालयले जनाएको छ । कार्यालयका निमित्त प्रमुख, जिल्ला निर्वाचन अधिकारी सन्तोष बस्नेतका अनुसार परिचयपत्र हराएमा, च्यातिएमा वा नष्ट भएको हकमा कार्यालय आएर निवेदन दिन सकिनेछ ।
कार्यालयमा आउँदा सम्बन्धित वडा कार्यालयको सिफारिस, नागरिकता, मतदाता परिचयपत्रमा उल्लेख भएको नम्बर ल्याउनुपर्नेछ । मतदाता परिचयपत्र नबुझिने गरी च्यातिएको भए सोही परिचयपत्र पनि ल्याउनुपर्ने कार्यालयले जनाएको छ । कार्यालयले जिल्लाका सक्रिय राजनीतिक दल, सरोकारवालालाई उक्त जानकारी गराइसकेको छ । मतदान गर्ने अधिकारबाट बञ्चित हुन नपरोस् भनेर २० फागुनसम्म उक्त व्यवस्था गरिएको हो ।
जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयमा भइरहेको मतदाता नामावली दर्ता कार्य स्थानीय तह निर्वाचन घोषणासँगै निर्वाचन आयोगको निर्देशनअनुसार स्थगन गरिएको छ । १६ वर्ष उमेर पूरा भएपछि मतदाता दर्ता गर्न सकिने छ । १८ वर्ष उमेर पूरा भएकाले मतदान गर्न सकिने व्यवस्था छ । ३० वैशाख ०७९ मा सम्पन्न हुने स्थानीय निर्वाचनमा २४ माघ ०७८ भित्र मतदाता नामावलीमा नाम दर्ता गर्नेले मत हाल्न पाउने छन् ।





.jpg)