ट्रेण्डिङ

होमपेज / समाज

वर्षातमा अवरुद्ध बनेको शंखमुल- खर्सुबास सडक अझै मर्मत भएन

  सल्यान खबर डेस्क २०७८ फाल्गुण ८ गते आइतबार १६:५३:५४ मा प्रकाशित

फागुन ८,सल्यान 

गत वर्षातका कारण अवरुद्ध बनेको शंखमुल -खर्सुबास सडक मर्मत नहुँदा स्थानीयले सास्ती भोग्नु परेको छ । वर्षात सकिएको लामो समय बितिसक्दा समेत अवरुद्ध बनेको सडक अझै सञ्चालनमा आउन नसकेको हो । 

वर्षातका कारण अवरुद्ध भएका ग्रामीण सडक मर्मत नगरिँदा पैदल यात्रीले समेत जोखिम मोलेर हिँडडुल गर्नु पर्ने बाध्यता रहेको छत्रेश्वरी गाउँपालिका – ४ बस्नेउराका गणेश नेपालले बताए । 

गाउँपालिकाले भदौ महिनाभित्र सडक मर्मत गर्ने बताए पनि अर्को वर्षात सुरु हुने समय हुँदै लाग्दा समेत मर्मत हुन नसकेको उनको भनाई छ । सडक मर्मत नहुँदा विद्यालय जाने बालबालिकालाई बढी जोखिम भएको नेपालको भनाई छ । 

सडक मर्मत गर्न वडा कार्यालयलाई जानकारी गराउँदा समेत कुनै सुनुवाइ नभएको उनको आरोप छ । सडक माथिबाट आएको पहिरोले सडक पुरै बगाउँदा पैदल हिँड्न समेत समस्या हुने गरेको उनले बताए । 

यता वडा न ४ का वडाध्यक्ष नेव बहादुर खड्काले भने केही समयभित्रै सडक मर्मत भइसक्ने बताए । गाडी सञ्चालन हुने स्थानसम्म दसैँ अघि नै मर्मत गरिसकेको उनको भनाई छ ।  

बस्नेउरामा ठुलो पहिरो रहेको र सानो मेसिनबाट सम्भव नभएकाले ठुलो मेसिन आउने बित्तिकै सडक सञ्चालनमा आउने उनको भनाई छ । सीमित बजेट भित्र सबै काम गर्नु पर्ने भएकाले एकै पटक सम्भव नभएको उनले बताए । जनताको सेवाकै लागि स्थानीय सरकारले भएकाले जतिसक्दो छिटो उक्त सडक सञ्चालन ल्याउन प्रयास गर्ने उनले बताए । 

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top