होमपेज / समाज
माघ २०,सल्यान
सल्यानको बागचौर नगरपालिका – ५ सिर्पाका घर घरमा खानेपानीका धारा जडान भएपछि स्थानीयवासी खुसी भएका छन् । एक घर एक धारा जडान गरेसँगै असुरक्षित र पानीका लागि धाउनु पर्ने सास्ती हटेको छ ।
अव्यवस्थित रहेको खानेपानीलाई व्यवस्थित गरी घर घरमा धारा जडान गरिएको सिर्पा खानेपानी तथा जलवायु अनुकूलन कार्यक्रममा अध्यक्ष शेर बहादुर वलीले बताए । अव्यवस्थित सामुदायिक खानेपानीका धारा रहेको क्षेत्रमा घर घरमै धारा जडान भएपछि स्थानीयमा खुसीयाली छाएको उनको भनाई छ ।
घर घरमा धारा आएपछि सामुदायिक धारामा पानी भर्न लाइनमा बस्नुपर्ने बाध्यता हटेको, समयको बचत र बालबालिकाले पानी ल्याउने समयमा पढ्ने अवसर पाएको निरुता सुनारले बताइन । खानेपानी भर्नेकै विषयमा समाजमा झैँ झगडा हुने गरेकोमा अहिले त्यो समस्या समेत समाधान भएको उनको भनाई छ ।
७० घरधुरीलाई पाँच वटा मात्र सामुदायिक धारा भएको र ती धारा पनि व्यवस्थित नहुँदा सबैमा पानी आउने समस्या झेल्दै आइरहेका सिर्पाबासीका लागि एक घर एक घारा आएपछि निकै सहज भएको विनिता वि.कले बताइन । गाउँदेखि झन्डै १४ सय मिटर टाढाबाट ल्याएर घरघरमा खानेपानीको व्यवस्था भएको उनको भनाई छ ।
नेपाल जलवायु परिवर्तनको ४० लाख र जनश्रमदान १२ लाख ३१ हजार २ सय ४ रुपैयाँ गरी ५२ लाख ३१ हजार २ सय ४ रुपैयाँको लागतमा ७१ वटा धारा निमार्ण गरिएको निमार्ण समितिका अध्यक्ष शेर बहादुर वलीले बताए । ७० घरमा एक घर एक धारा र एक धारा सार्वजनिक स्थलमा निर्माण गरिएको उनको भनाई छ ।





.jpg)