होमपेज / समाज
माघ १९,सल्यान
नेपालको १०० वटा पर्यटकीय गन्तव्यमध्ये एक प्राकृतिक ताल कुपिन्डेतालमा सरसफाइ गरी सिमसार दिवस मनाइएको छ । डिभिजन वन कार्यालय सल्यानको आयोजना पर्यटकीय स्थल कुपिण्डे तालमा पुगेर अन्तरक्रिया तथा सरसफाइ गरी दिवस मनाइएको हो ।
ताल वरपर पर्यटकहरूले जथाभाबी फालेको फोहरलाई व्यवस्थित गरिएको छ । अन्तरक्रिया कार्यक्रममा बोल्दै वनगाड कुपिण्डे नगरपालिका वडा नम्बर ८ का अध्यक्ष कुलबहादुर यरीले ताल तलैया संरक्षण गर्न प्रभावकारी रूपमा नियमनकारी निकायले काम गर्नु पर्ने बताए । उनले कुपिण्डे ताल पछिल्लो समयमा आसपास क्षेत्रमा भएका विकास निर्माणले सङ्कट पर्दे गएको भन्दै दिगो विकासका काम सुरु गर्नु पर्ने बताए।
यस्तै डिभिजन वन कार्यालय सल्यानका प्रमुख रमेश गिरीले पानी जम्मा हुन सक्ने ठाउँमा मानवीय क्रियाकलाप हुँदा सिमसार क्षेत्र साँघुरिँदै गएको बताए । उनले सिमसारको अत्यधिक उपयोग, भूमि अतिक्रमण, मिचाहा प्रजाति आदिले सिमसारको संरक्षण र व्यवस्थापनमा चुनौती देखिएको बताए। सिमसारले धेरै जनसमुदायका लागि जीवनयापनको आधार पनि प्रदान गरेको प्रमुख गिरीको भनाई छ । पारिस्थितिक प्रणालीमा आधारित अनुकूलन आयोजना सल्यानका संयोजक दिगम्बर दाहालले सल्यानमा रहेका कुपिण्डे ताल, कछुवा दह जस्ता सिमसार क्षेत्रको संरक्षण सरोकारवाला सक्रिय हुनु पर्ने बताए ।





.jpg)