ट्रेण्डिङ

होमपेज / समाज

मासिँदै सल्यानका सिमसार क्षेत्र

  सल्यान खबर डेस्क २०७८ माघ १९ गते बुधबार १६:३९:०३ मा प्रकाशित

माघ १९,सल्यान 

जनसङ्ख्या वृद्धिसँगै अव्यवस्थित बसोबास, विकास निमार्ण लगायतका कारण सल्यानका सिमसार क्षेत्र मासिँदै जान थालेका छन् । सिमसारका जग्गा अतिक्रमण, जलवायु परिवर्तन, औद्योगीकरण लगायतका कारण सिमसार क्षेत्र सुख्खा र उजाड बन्न थालेका छन् ।

 सिमसार क्षेत्र हराएपछि त्यहाँ पाइने आहारा नपाइने गरेकाले चरा तथा पक्षी समेत लोप हुँदै जान थालेको डिभिजन वन कार्यालय सल्यानले जनाएको छ ।

 सिमसारको दिगो संरक्षण तथा व्यवस्थापन गर्न सके कृषि, सिँचाई, वातावरण, ग्रामीण पर्यटन, जैविक विविधता, जनावरको संरक्षण, स्थानीयवासीको लागि आयआर्जनको माध्यम, स्थानीय तहमा अर्थतन्त्रमा आत्मनिर्भर हुने डिभिजन वन कार्यालय सल्यानका डिभिजन वन प्रमुख रमेश गिरीले बताए । बढ्दो सहरीकरण, यातायात, अव्यवस्थित विकास निमार्ण लगायतका कारण सिमसार क्षेत्र व्यवस्थापनमा चुनौती थपेको उनको भनाई छ ।

 सल्यानका मुख्य सिमसारको रूपमा रहेका कुपिण्डे ताल, कछुवा दह, शारदा नदी, बनगाड खोला, मर्म खोला लगायतका सिमसार रहेका छन् । नदी तथा खोलाबाट अव्यवस्थित ढङ्गले बालुवा गिट्टी निकाल्ने, ढुङ्गा निकाल्ने कार्य गर्दा सिमसार क्षेत्र पुरिँदै र नासिँदै जान थालेका छन् । 

पूर्ण रूपमा पानीले भिजेको क्षेत्र, प्राकृतिक रूपले बनेको तथा कृत्रिम रूपले बनाइएको, स्थायी वा अस्थायी रूपले जमेको पानी, जमिन मुनिको पानी वा वर्षाले जमेको वा बगेको पानीको क्षेत्रलाई सिमसारको रूपमा बुझिने डिभिजन प्रमुख गिरीको भनाई छ । उनले भने  सिमसारले पानीको भण्डारण र सफाइ, जैविक विविधताको आश्रय स्थल, आद्यन्न र जडीबुटी, सांस्कृतिक धार्मिक र ऐतिहासिक पर्यटकियस्थल आदिको उपयोगिता प्रदान गरेको छ । 

सिमसार क्षेत्रको संरक्षण एवं प्रवर्द्धन गर्न वृक्ष रोपन, रिचार्ज पोखरी निर्माण गर्दै आइरहेको कार्यालयले जनाएको छ । 

परम्परागत रूपमा गाउँघरमा पोखरी, दह, कुवा आदिको संरक्षण गरेर राख्ने प्रचलन पुरानो समयदेखि रहँदै आएको छ । तर भौतिक विकासको तीव्र माग र अदूरदर्शी योजना कार्यान्वयनले गर्दा पोखरी, दह, खोला, कुवाको महत्त्व घट्दै , पुरिँदै सुक्दै र अन्य उपयोगमा जाँदै मासिँदै गएको गिरीको भनाई छ । उनले भने यसबाट एकातिर हाम्रो दैनिक आवश्यकताका लागि पानीको स्रोत मासिँदै गएको छ भने अर्को तर्फ जलस्रोतले प्रदान गर्ने फाइदा सदाका लागि लोप हुँदै जान थालेका छन् । 

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top