ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा १ सय ६८ वर्ष पुरानो जीर्ण कारागारमा कैदीबन्दी

  सल्यान खबर डेस्क २०७८ पौष २२ गते बिहीबार १५:३७:२४ मा प्रकाशित

पुस २२,सल्यान 

 सल्यानमा १ सय ६८ वर्ष पुरानो, जीर्ण र जोखिमयुक्त कारागारमा कैदी बन्दी बस्न बाध्य छन् । १९१० सालमा तत्कालीन सल्यानी राजा रजौटाले तबेलाको रुपमा निर्माण गरेको भवनमा अहिले कैदी बन्दीलाई राखिएको छ ।

सामान्य टालटुलबाहेक अन्य काम नहुँदा कैदी बन्दी र सुरक्षाकर्मीले जोखिम मोल्दै आएका छन् । जेलर बलबहादुर केसीका अनुसार कारागार भवन मर्मतका लागि आर्थिक वर्ष २०७२ ७३ मा ५ लाख रुपैयाँ बजेट आएको थियो । त्यसयता एक रुपैयाँ पनि बजेट नआएको उनले बताए । उक्त बजेटबाट कारागारभित्र पाले बस्ने एक कोठे भवन निर्माण गरिएको थियो । कारागार भवनमा ४ वटा मात्र कोठा छन् । कारागारको क्षमता २० पुरुष र ५ महिला गरी २५ जनाको छ तर अहिले १ सय ४ पुरुष, २२ महिला र ३ नाबालक गरी १ सय २९ जना रहेको उनले जानकारी दिए ।

भवनमा पहिरोको उच्च जोखिमसमेत रहेको कारागारका चौकीदार निमलाल विष्टले बताए । ‘वर्षायाममा र हिउँदमा चिसोले सताउँछ,’ उनले भने, ‘कुनबेला भवन ढलेर सबैलाई एकै चिहान बनाउने हो भन्ने चिन्ता छ ।’ उनले कोठा कम भएकाले भुईँ र गल्लीमा सुत्नु पर्ने बाध्यता रहेको बताए । वर्षाको समयमा कोठाभित्रै पानी चुहिने समस्या छ । शौचालय जान घण्टौँ लाइन बस्नुपर्ने बाध्यता रहेको उनले गुनासो गरे ।

कारागारमा कैद सजाय भुक्तान गरिरहेका कोमल केसीले भूकम्प आए तथा केही भएर भवन भत्किएमा सबैको ज्यान जान सक्ने खतरा रहेको बताए । कैदी बन्दीको व्यवस्थापनमा लापरबाही भएको उनको आरोप छ । ‘साँघुरो कारागार भवनभित्र खेल मैदान छैन, सबै खाले सास्ती भोग्दै कारागारमा बस्न बाध्य छौँ,’ उनले भने, ‘साँघुरो कोठामा अटेसमटेस गरी बस्दा सरुवा रोगको जोखिम उत्तिकै छ ।’ कारागार प्रशासनले आफूहरूको मागप्रति लामो समयदेखि बेवास्ता गरिरहेको अर्की कैदी जयन्ती हमालले बताइन् । उनका अनुसार समस्या जति राखे पनि समाधानतर्फ कसैले ध्यान गएको छैन । उनले ४ जना बस्ने कोठामा २२ जना कोचिएर बस्नुपरेको गुनासो गरिन् । ‘हामीले त सामान्य मानव अधिकारको प्रत्याभूति पनि गर्न सकेका छैनौँ,’ उनले भनिन्, ‘कोचिएर जताबाट सुत्यो उतैबाट उठ्नुपर्छ, अरू समस्याको त कुरै नगरौँ ।’

ekantipur.com

प्रतिक्रिया

सम्बन्धित खवर

Top