होमपेज / समाज
पुस २२,सल्यान
जिल्ला निर्वाचन कार्यालय सल्यानले स्थानीय स्तरसम्म मतदाता नामावली सङ्कलन अभियान सञ्चालन गरेपछि जिल्लामा १६ हजार ६ सय ४९ मतदाता थपिएका छन् ।
कार्यालयले नौ वटा स्थानीय तहमा गत मङ्सिर १७ गतेदेखि पुस ९ गतेसम्म मतदाता नामावली सङ्कलन अभियान सञ्चालन गरेको थियो । बागचौर नगरपालिकामा भने इलाका प्रशासन कार्यालयबाट धेरैले नागरिकता लिएकाले पुस १९ गतेसम्म नामावली सङ्कलन भएको थियो ।
कार्यालयका सूचना अधिकारी तेजेन्द्र कुमार चन्दका अनुसार बागचौर नगरपालिकामा सबैभन्दा धेरै मतदाता थपिएको जानकारी दिए । उनका अनुसार बागचौर नगरपालिकामा २११७, दार्मा गाउँपालिकामा १८११, कुमाख गाउँपालिकामा १३३४, कपुरकोट गाउँपालिकामा ६८९ जना मतदाता थपिएका छन् । यस्तै छत्रेश्वरी गाउँपालिकामा ७३५, कालिमाटी गाउँपालिकामा ७२७, बनगाड कुपिण्डे नगरपालिकामा ४८६, त्रिवेणी गाउँपालिकामा ९७५ र सिद्ध कुमाख गाउँपालिकामा ३ सय ५१ जना मतदाता थपिएका छन् ।
यसै गरी मङ्सिर १ गतदेखि पुस २१ गतेसम्म जिल्ला निर्वाचन कार्यालयबाट ३५१३, जिल्ला प्रशासन कार्यालयबाट २०२६ र इलाका प्रशासन कार्यालय थारमारेबाट १८८५ जनाले नामावली दर्ता गराएका छन् । दर्ता भएका विवरण रुजु गर्ने काम भइरहेको सूचना अधिकारी चन्दको भनाई छ ।
यससँगै सल्यानमा १ लाख ६३ हजार ७ सय ७२ जनाको नामावली दर्ता गराएका छन् । उनले भने नाम दोहोरिएको भए हट्छ । परिचयपत्र हराएकाले पनि पुनः नाम दर्ता गराएको हुन सक्छ । बसाइसराई गरी गएका हुन्छन् । सबै रुजु गर्ने काम भइरहेको छ ।
फोटोसहितको मतदाता नामावलीको लागि नेपाली नागरिकता प्राप्त गरेका सबैले नामावली सङ्कलन गरिएका पनि निर्वाचनको मिति घोषणा हुँदा १८ वर्ष पुगेकाले मात्र मतदान गर्न पाउने उनको भनाई छ ।
पालिका स्तरमा अभियान सकिए पनि जिल्ला प्रशासन , निर्वाचन कार्यालय र इलाका प्रशासन कार्यालय थारमारेबाट नयाँ मतदाता नामावली सङ्कलनको काम भइरहेको चन्दले बताए ।





.jpg)