होमपेज / समाज
मङ्सिर ८,सल्यान
इलाका प्रशासन कार्यालय थारमारेमा जनशक्तिको अभाव र सेवाग्राहीको भिड हुँदा नागरिकता बनाउन सास्ती भएको छ ।
सेवाग्राहीको चापका कारण कार्यालयमा अन्य सेवा समेत प्रभावित भएको छ । सेवाग्राहीको चाप बढेसँगै नागरिकता बनाउन दुई दिन कुर्नु पर्ने बाध्यता रहेको छ । प्रशासनमा दैनिक सरदर ५० नयाँ नागरिकता जारी हुने गरेको कार्यालयले जनाएको छ । २० देखि २५ जनजातिको नागरिकता प्रतिलिपि, ३० देखि ३५ जनासम्म अन्य सिफारिस लिन आउने हुँदा दैनिक एक सय देखि १२० जनासम्म सेवा ग्राही आउने गरेको इलाका प्रशासन कार्यालय थारमारेका प्रमुख मोहन डाँगीले बताए ।
दैनिक एक सय भन्दा बढी सेवाग्राही आउने हुँदा फाइल पेस गरेको दुई दिनपछि मात्र पालो आउने गरेको डाँगीले बताए । उनले भने नागरिकता बनाउन आउनेले सनाखतका लागि समेत मानिस लिएर आउने हुँदा भिडभाड बढी देखिएको छ । बिहान १० बजेदेखि साँझ ६ बजेसम्म सेवा दिँदै आइरहेको उनको भनाई छ ।
भिड अत्यधिक हुँदा एक दिनमै हुने काम दुई दिनसम्म लाग्ने गरेको कार्यालय प्रमुख डाँगीले बताए । कार्यालयमा जनशक्ति कम हुँदा पनि व्यवस्थापनमा समस्या भएको उनले बताए । सेवाग्राहीको चाप बढ्दा प्रहरीको सहयोगमा भिड व्यवस्थापन गर्नु परी रहेको डाँगीको भनाई छ ।
बागचौर नगरपालिका, कुमाख, दार्मा र सिद्ध कुमाखका सेवाग्राहीलाई इलाका प्रशासन कार्यालय थारमारेले सेवा दिँदै आइरहेको छ ।





.jpg)