ट्रेण्डिङ

होमपेज / समाज

३ दशकदेखि अधुरो पानीको सपनामा सल्यानका स्थानीय

  सल्यान खबर डेस्क २०७८ कार्तिक २४ गते बुधबार १५:४२:१२ मा प्रकाशित

सल्यान — कालीमाटी गाउँपालिका–७ बाटुलेकी वर्ष ४० की पिमसरा घर्तीले घर नजिकै धाराबाट पानी ल्याई खाने सपना देख्न थालेको झन्डै ३० वर्ष हुन थाल्यो । तर दुःखको कुरा, उनी हाल घरदेखि करिब एक घण्टाको दूरीमा पर्ने जरुवामा गई पानी ल्याएर खान बाध्य छिन् । लामो समय हिँडेर गाग्री बोकेकै कारण उनलाई हाल कम्मरको समस्या छ । 

खानेपानी योजना सञ्चालनमा आउन नसकेका कारण आम्बासकी ३८ वर्षीया निर्मला ओली पनि घरदेखि करिब आधा घण्टाको दूरीमा पर्ने खोला नजिकै खनेको इनारबाट पानी ल्याउन बाध्य छिन् ।

यी दुई महिला मात्र नभई कालीमाटी गाउँपालिका–७ काप्रेचौरस्थित याङ, आम्बास, बाटुले, हाउखोला, कुसुमतरा, स्वामिबास, धुले गरी आठ गाउँवासी खानेपानीबाट प्रभावित हुँदै आएका छन् । देशमा संघीयता स्थापनासँगै विकासको काम धमाधम हुने भने पनि घरछेवैका धाराबाट पानी पाउने स्थानीयको सपना अझै पूरा हुन सकेको छैन । खानेपानीका लागि स्थानीय महिलाहरू रातबिरात नभनी विभिन्न किसिमका जोखिम उठाउँदै मुहान, कुवा चहार्न बाध्य हुँदै आएका छन् । खानेपानीको अभावका कारण आठ गाउँका झन्डै तीन सय परिवार प्रत्यक्ष मारमा छन् ।

स्थानीय तथा प्रदेश सरकारसँग बारम्बार योजनाका लागि आग्रह गर्दै आए पनि अहिलेसम्म कुनै चासो नदेखाएपछि बबई नदीको पानी खानुपरेको रमादेवी रानाले बताइन् । ‘नजिकै मुहान तथा धारा नभएकाले पानीका लागि धेरै सास्ती हुने गर्छ,’ उनले भनिन् । जिल्लाको सबैभन्दा विकट बस्ती भएकाले सम्बन्धित निकायको ध्यान पुग्न नसकेको र नेताले गरेको उपेक्षाका कारण स्वच्छ पानी खान पाउने अधिकारबाट वञ्चित भएको उनको गुनासो छ ।

बस्ती आसपास जंगल बढी भएका र जंगली जनावरको सधैं डर भइरहने गरे पनि ज्यान जोखिममा पारेर बस्तीदेखि टाढा रहेको जंगल आसपासको मुहानमा गएर पानी ल्याउनुपर्ने बाध्यता रहेको स्वामीबासकी धनसरा घर्तीले बताइन् । घुइँयाबारीका स्थानीय निर्मल सुनारले सम्बन्धित निकायकै बेवास्ताका कारण काप्रचौर सबैभन्दा पछि परेको बताए । ‘चुनावका बेला भोट माग्न आएका नेताले घरघरमै पानी उपलब्ध गराउने प्रतिबद्धत्ता जनाएका थिए । तर चुनाव जितेपछि उनीहरू गाउँ फर्केका छैनन्,’ उनले भने, ‘गाउँलेको समस्या जहाँको तहीँ छ ।’

कालीमाटी गाउँपालिका–७ का वडाध्यक्ष नयनसिं रानाले देशमा गणतन्त्रसँगै संघीयता लागू भए पनि अहिलेसम्म काप्रेचौर ओझेलमा परेको बताए । संघ तथा प्रदेशबाट बजेट नपरेकाले खानेपानी समस्या सुल्झाउन नसकिएको उनको भनाइ छ । संघ तथा प्रदेश सरकारका प्रतिनिधिसँग बारम्बार माग राख्दै आए पनि खानेपानी योजनाका लागि खासै ध्यान नदिएको उनको दाबी छ । ‘स्थानीय तहले खासै बजेट छुट्याउन सकेको छैन । चार वर्षको अवधिमा झन्डै डेढ/दुई करोड जति छुट्याएको थियो । सानातिना योजनाको काम गर्दैमा बजेट सकियो । प्रदेश तथा संघले अहिलेसम्म बजेट उपलब्ध गराएको छैन,’ उनले भने ।

संघले पर्याप्त बजेट पठाउन नसकेका कारण काप्रेचौरमा खानेपानीका लागि ठूला योजना सञ्चालन गर्न नसकेको कालीमाटी गाउँपालिका अध्यक्ष दानबहादुर खत्रीले बताए । पालिकाका सबै वडामा खानेपानी योजना सञ्चालनका लागि माग भइरहेको र केही वडामा भने सञ्चालनमा आइरहेको उनको भनाइ छ ।

ekantipur

प्रतिक्रिया

सम्बन्धित खवर

Top