होमपेज / समाज
आइतबार बिहान सल्यानमा भएको बस दुर्घटनाका १२ जना मृतकमध्ये १० जनाको सनाखत भएको छ।
सनाखत भएकाहरू सल्यानको शारदा नगरपालिका १२ कि हाल दाङको तुलसिपुर उपमहानगरपालिका -६ बस्ने ५३ वर्षकी प्रभा चलाउने, शारदा नगरपालिका -२ कि ६१ वर्षीया मिना डाँगी, शारदा नगरपालिका ३ कि ६६ वर्षीया लिला बुढाथोकी, त्रिवेणी गाउँपालिका १ काभ्रा की २४ वर्षीया मिना शाही, दाङको बबई गाउँपालिक ४ कि ६० वर्षीया डुलि रेउले छन्।
यसैगरी दुर्घटनामा दाङको बबई गाउँपालिका ६ की ७० वर्षीया कलावती बुढाथोकी, दाङको घोराही उपमहानगरपालिका नारायनपुरकी ६५ वर्षीया ईन्द्रा अधिकारी र सल्यानको छत्रेश्वरी गाउँपालिका २ का २९ वर्षीय तिलक ओलीको पनि मृत्यु भएको छ। यस्तै दाङ शान्तिनगर गाउँपालिका ८ की ३५ वर्षीया सावित्रा केसी, र दाङ कोरवाङकी ५ वर्षीय सुरज ओली रहेका छन् ।
सल्यानको जयतपानीबाट दाङको तुल्सीपुरतर्फ जाँदै गरेको रा १ ख २५५२ नम्बरको बस कपुरकोट गाउँपालिका–५ खारखोलामा बिहान पौने ११ बजेतिर दुर्घटना भएको हो।
घाइतेको उद्धार गरेर सल्यान जिल्ल्ला अस्पताल र श्रीनगरमा रहेको अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार ८ जनाको घटनास्थलमै ज्यान गएको हो भने बाँकीको उपचारका क्रममा मृत्यु भएको थियो।
चालक भने फरार भएका छन्। प्रहरीले उनको खोजी गरिरहेको छ।
दुर्घटनामा पर्नेमा अधिकांश तिहारको विदा सकेर दाङ र अन्य शहरी क्षेत्रमा फर्कन लागेका रहेको प्रहरीको अनुमान छ।
सल्यानको जयतपानीबाट, दुलधारा, खलंगा हुँदै दाङको तुल्सीपुरतर्फ जाँदै गरेको बस धेरै गति र जीर्ण सडकका कारण दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
बस सडकबाट २ सय मिटर तल खसेको थियो।





.jpg)