होमपेज / समाज
सल्यान — झन्झटिलो सरकारी प्रक्रियाका कारण सल्यानमा झन्डै दुई दर्जन कोइला, चुनढुंगा, फलाम, तामा, सिसालगायत खानीहरू अलपत्र परेका छन् ।खानी तथा भूगर्भ विभागको २०४० को अध्ययनअनुसार शारदा–६ खामेलेकस्थित खानीमा नेपालकै गुणस्तरीय चुनढुंगा पाइन्छ ।
यो खानीबाट कम्तीमा एक सय वर्ष उत्खनन गर्न सकिन्छ । जसका लागि विश्वकर्मा सिमेन्टले लाइसेन्स (इजाजत) लिएको छ । तर उत्खनन अझै सुरु भएको छैन । वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) नहुँदा उत्खनन रोकिएको वडाध्यक्ष भिकराज बुढाथोकीले बताए । ‘खानी उत्खनन गर्न सके युवालाई स्थानीयस्तरमै रोजगारी दिन सकिन्थ्यो,’ उनले भने, ‘अन्य पूर्वाधार विकासका काम पनि अघि बढ्थे ।’ एक वर्षअघि ईआईए गर्न विभागले प्राविधिक खटाए पनि स्थानीयको विरोधपछि काम रोकिएको थियो ।
त्यस्तै, कुमाख गाउँपालिकामा २१ वर्गकिलोमिटर क्षेत्रमा फैलिएको फलाम खानी उत्खनन गर्न २०७६ मा सुवास कास्यपति इन्डस्ट्रिजले र कपुरकोटमा चुनढुंगा उत्खनन गर्न शिवस्वरूप खनिज उद्योगले २०६७ मा स्वीकृति लिएका थिए । ढोडचौरको चुनढुंगा उत्खनन गर्न शोभा भण्डारी कन्स्ट्रक्सनले र क्यालसाइट उत्खनन गर्न साइजेम्स माइन्स एन्ड मिनरल प्रालिले लाइसेन्स लिएका थिए । तर सरकारी प्रक्रिया नमिल्दा कसैले पनि काम अघि बढाउन सकेका छैनन् ।
कपुरकोट गाउँपालिकाको पाखापानीस्थित कोइलाखानीका लागि १६ वर्षअघि नै ठेकेदार दिनेश डाँगीले लाइसेन्स लिएका थिए । तर बस्ती जोखिममा परेको भन्दै स्थानीयले अवरोध गरेपछि उत्खननको काम रोकिएको थियो । ठेकेदारलाई नजिकैका सामुदायिक वनहरूले पनि अनुमति नदिँदा समस्या भएको गाउँपालिका अध्यक्ष भीमबहादुर सेनले बताए ।
‘खानीमा कति कोइला छ र कति वर्षसम्म निकाल्न सकिन्छ भन्नेबारे अझै अध्ययन भएको छैन,’ उनले भने, ‘प्रक्रिया नै झन्झटिलो छ, उत्खनन हुन सके गाउँपालिकाको आम्दानी पनि बढ्थ्यो ।’ उनका अनुसार पाखापानीसँगै कालीमाटीको मर्चेबारी र घुरचौरमा पनि कोइलाखानी छ । यी दुवै खानीबाट कम्तीमा ५० वर्षसम्म कोइला निकाल्न सकिने गरी अध्ययन भइसकेको छ । गाउँपालिकालाई जिम्मा दिए आवश्यक प्रक्रिया सुरु गरेर एक वर्षभित्रै उत्खनन सुरु गर्ने उनले दाबी गरे ।
कालीमाटीको कोछट्टेमा रहेको सिसाखानीबाट स्थानीयले २० वर्षअघिसम्म सीसा निकाल्थे । सरकारले उत्खनन् रोकेपछि खानी रहेको क्षेत्र पुरिँदै गएको गाउँपालिका अध्यक्ष दानबहादुर खत्रीले बताए । उनका अनुसार गाउँकै खानीको सदुपयोग नहुँदा कालीमाटीका झन्डै ५ हजार युवा बर्सेनि मजदुरीका लागि भारत जान बाध्य छन् ।
शारदा–७ मा पनि तामा र फलामखानी बेवारिसे बनेको स्थानीय सेतीराम विकले बताए । उनका अनुसार उक्त खानीबाट ४० को दशकसम्म स्थानीयले फलाम र तामा निकाली हातहतियार र भाँडाकुँडा बनाएका थिए । ‘यहाँको खानीबाट निकालिएको फलाम र तामा देशभरि नै प्रसिद्ध थियो,’ उनले भने, ‘ठूलो परिणाममा उत्खनन गर्न नदिए पनि स्थानीयलाई निकाल्न दिए आत्मनिर्भर बन्न सहयोग पुग्थ्यो ।’ उनी आफैंले खानीबाट निकालेको फलाम र तामाबाट बनाएका केही औजार र भाँडाकुँडा घरमा सजाएर राखेका छन् । कुनै बेला उनले फलामका औजार र तामाका भाडा दाङ, नेपालगन्ज र सुर्खेतसम्म पुर्याएर बेचेका थिए ।
बेलाबेलामा हुने राजनीतिक हस्तक्षेप र उत्खनन विधि जटिल हुँदा जिल्लाका सबै खानी बेकामे बनेको शारदा नगर प्रमुख सुरेश अधिकारीले बताए । विभागबाट लाइसेन्स लिएकाले मात्र खानी उत्खनन गर्न पाउने व्यवस्था भएको डिभिजन वन कार्यालय प्रमुख रमेशकुमार गिरीले बताए । ‘पालिकाले उत्खनन गर्न संघीय सरकारले तयार गरेको नीति र ऐनसँग मिल्दो कानुन बनाउन जरुरी छ,’ उनले भने, ‘कुनै पनि खानी उत्खनन गर्न ईआईए गर्नु जरुरी छ तर अधिकांशमा नहुँदा उत्खनन रोकिएको हो ।’
ekantipur





.jpg)