ट्रेण्डिङ

होमपेज / समाज

खाल्डाखुल्डी सडकले यात्रुलाई सधैँको सास्ती 

  सल्यान खबर डेस्क २०७८ आश्विन २२ गते शुक्रबार १६:५७:३४ मा प्रकाशित

असोज २२,सल्यान 

दसैँ तिहारको मुखमा सडकमा सवारीसाधनको चाप बढी छ । तर वर्षा र पहिरोले क्षति पुगेका सडक मर्मत नहुँदा सवारीसाधन फस्ने, बिग्रने गर्दा यात्रुले सास्ती भोग्दै आइरहेका छन् । 

राप्ती लोक मार्गसँगै अन्य ग्रामीण सडकहरू मर्मत नहुँदा यात्रुले सास्तीसँगै यात्रामा बढी समय लाग्ने गरेको गुनासो गरेका छन् । ग्रामीण सडक भन्दा राप्ती राजमार्ग नै बढी बिग्रिएको चालकहरूको भनाई छ । कपुरकोट आसपासमा आइरहने पहिरोले यात्रु र गाडी चालकले बढी सास्ती भोग्नु परी रहेको चालक रवीन्द्र श्रेष्ठले बताए । सडकको स्तरोन्नति नहुँदा जोखिम मोलेर गाडी चलाई रहेको उनको भनाई छ । 

पहिरो झरेको र सडक बगेको स्थानमा कामचलाउ मर्मत गरी सवारी सञ्चालनमा ल्याइएको उनको भनाई छ । जसका कारण दोहोरो आवागमनमा समस्या हुने गरेको श्रेष्ठले बताए । उनले भने ‘खाल्डाखुल्डी गनेर साध्य छैन, सडकमा खाल्डा हो कि खाल्डामा सडक हो छुट्याउन गाह्रो छ ।’ 

सल्यान सदरमुकाम खलङ्गाबाट ३ घण्टामा पुगिने दाङ तुलसीपुर आजभोलि ५ घण्टाभन्दा बढी लाग्ने गरेको अर्का बस चालक केशर बहादुर बुढाथोकीले बताए । खाल्डाखुल्डीका कारण बढी समय लाग्ने, गाडी टुटफुट हुने र दुर्घटनाको खतरा उत्तिकै रहेको उनको भनाई छ । ‘मर्मत सम्भार टालटुले मात्र हुने त्यो पनि गुणस्तरहीन हुने भएकाले धेरै टिक्दैन’ उनले भने । 

सडक खन्नेमा जोड दिने तर त्यसको मर्मत सम्भार र स्तरोन्नति गर्न तर्फ सम्बन्धित निकायले ध्यान नदिएको स्थानीय दिलमाया वलीले बताइन । नयाँ सडक निर्माणमा जोड दिने तर खनिएका सडकलाई मर्मत गर्नतर्फ ध्यान नदिँदा राज्यको लगानी पनि खेर गइरहेको उनको भनाई छ । वर्षाले क्षतविक्षत भएका सडक चाडपर्व आइसक्दा समेत मर्मत नभएको यात्रुहरूको भनाई छ । सडक राम्रो नहुँदा बढी मात्रामा बिरामी र वृद्धवृद्धा समस्यामा परेको वलीले बताइन । 

खनिएका सडकहरूमा नियमित गाडी सञ्चालनका लागि पालिका र प्रदेशले सामान्य स्तर वृद्धिका कामलाई अघि बढाई रहेको दार्मा गाउँपालिका अध्यक्ष निम बहादुर केसीले बताए । नियमित गाडी चल्न बढाउनका लागि बजेटको व्यवस्था गरिएको उनको भनाई छ । गाउँपालिकाको केन्द्रसम्म नियमित गाडी सञ्चालन गर्न  सीमित बजेटका बाबजुद विगतदेखि लगानी रहेको बताउँदै चाडपर्व अघि नै मुख्य मुख्य सडक मर्मत सम्भार गरी सक्ने केसीले बताए । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top