ट्रेण्डिङ

होमपेज / राजनीति

सल्यानमा निर्वाचन सामग्री बुझेर मतदानस्थलतर्फ खटिए कर्मचारी

  सल्यान खबर डेस्क २०८२ फाल्गुण १७ गते आइतबार २१:१०:५५ मा प्रकाशित

फागुन १७,सल्यान 
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सल्यानमा निर्वाचन तयारी अन्तिम चरणमा पुगेको छ । मतदान प्रक्रियालाई व्यवस्थित र शान्तिपूर्ण बनाउन तालिमपछि निर्वाचन कर्मचारीहरूले आवश्यक सामग्री बुझेर तोकिएका मतदानस्थलतर्फ जान सुरू भएको छ ।

निर्वाचन आयोग नेपालको कार्यतालिका अनुसार जिल्लामा खटिएका मतदान अधिकृत, सहायक मतदान अधिकृत तथा सहयोगी कर्मचारीहरूले मतपत्र, मतपेटिका, मतदान गोप्य कक्ष, छाप, मतदाता नामावलीलगायतका अत्यावश्यक सामग्री बुझेर आ–आफ्ना केन्द्रतर्फ जान थालेका छन् ।

दार्मा, कालिमाटी, कपुरकोट, कुमाख गाउँपालिका र वनगाड कुपिण्डे नगरपालिकाका कर्मचारी आजै मतदान स्थलतर्फ गएका छन्। सदरमुकाम खलंगाबाट नजिक रहेका सिद्धकुमाख, त्रिवेणी, छत्रेश्वरी गाउँपालिका र राजमार्गसँग जोडिएका वागचौर तथा शारदा नगरपालिकाका कर्मचारी भने भोलि मतदान स्थल पुग्ने कार्यक्रम छ।

मुख्य निर्वाचन अधिकृत प्रल्हाद कुमार योगीका अनुसार मतपत्रसहित निर्वाचन सामग्री बुझेर मतदानमा खटिने ४३० जना मतदान अधिकृत र सहायक मतदान अधिकृतसहित १२२८ कर्मचारी परिचालित छन्।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन नेपाली सेना र नेपाल प्रहरीको संयुक्त सुरक्षा गस्ती सुरु गरिएको छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले समन्वयात्मक रूपमा जिल्लाभर निगरानी थालेका छन्। प्रमुख जिल्ला अधिकारी महेन्द्र कुमार सापकोटाका अनुसार नेपाल प्रहरी ६६८, निर्वाचन प्रहरी १४०६, सशस्त्र प्रहरी ३०० र नेपाली सेना १३ स्थानमा परिचालित छन्।

सल्यानमा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ११७ मतदान स्थल र २०५ मतदान केन्द्र तोकिएको छ, जहाँ एक लाख ६२ हजार ४४९ मतदाता मतदान गर्नेछन्। निर्वाचनलाई निष्पक्ष, सुरक्षित र प्रभावकारी बनाउने उद्देश्यले सबै कर्मचारी र सुरक्षाकर्मी पूर्ण रूपमा परिचालित छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

Top