होमपेज / कला/साहित्य
वैशाख ११,सल्यान
मौलिक रियालिटी शो हिमालय लोक स्टारका प्रतियोगी सल्यानका पिएन साइला यति बेला गृह जिल्ला आएर भेटघाटलाई तीव्रता दिनु भएको छ । नेपाल स्टारको टप ६ मा पुग्नु भएका साइला भोट माग्दै आफ्नो गृह जिल्ला आउनु भएको हो । फाइनल प्रवेश गर्नु भएका ६ प्रतिस्पर्धी मध्य एक जना स्टार बन्ने छन् । भोट माग्दै सल्यान आउनु भएका साइलालले आफन्त, शुभचिन्तक र फ्यानहरूको माया र सद्भावले यहाँसम्म आइपुगेको र लोक स्टार बनाउन अझै सहयोगको खाँचो रहेको बताउनु भयो ।
नेपाली लोक गीत क्षेत्रमा आयोजना गरिएको रियालिटी शो मा आफू फाइनलमा प्रवेश गर्नु महत्त्वपूर्ण भएको समेत बताउनु भयो । उहाँले अब स्टार बन्नका लागि धेरै भन्दा धेरै समर्थकहरूको साथ र भोटको आवश्यकता रहेकाले आफू भोट माग्दै सल्यान आइपुगेको बताउनु भयो ।
हिमालय लोक स्टारको ग्राण्ड फिनाले बुधवार बेलुका साढे ५ बजे भृकुटीमण्डपमा हुँदैछ । उहाँलाई लोक स्टार बनाउन आइएमइ पे एप डाउनलोड गरी भोटिङ कोर्ड १० मा भोट गर्न सकिनेछ ।
२०६८ सालमा गायक बन्ने सपना लिएर काठमाडौँ छिर्नु भएको थियो पिएन, जसले यो सहरमा गर्नुपरेको सङ्घर्ष चानचुने छैन । सपनाको सहर आइसकेपछि थाहा पाए, गायक बन्न त टाढैको कुरा भयो, यहाँ पेट पाल्न पनि सजिलो छैन । ‘बस्ने ठाउँ नपाएर रत्नपार्कको चिसो सिँढीमा रात कटाएँ’, पीएनले बिर्सनु भएको छैन, ‘सेटल भइन्छ कि भनेर महिनाको १५ सय तलबमा होटेलमा भाँडा माझ्ने र दोहोरी गाउने काम पनि गरेँ ।’
काठमाडौँमा टिक्नै मुस्किल भएपछि केही समयमै उनी पैसा कमाउन भारततिर हानिनु भयो । तर, सपना भनेको सपना नै हो, जसले उनलाई निदाउनै दिएन । २०७३ सालतिर उहाँ फेरि त्यही सपना ब्युँताएर काठमाडौँ जानु भयो । उहाँसँग गाउने कला थियो । सारङ्गी पनि राम्रै बजाउनु हुन्थ्यो । काठमाडौँमा दोहोरी साँझमा काम पाउनु भयो ।
१४ वर्षकै उमेरमा विवाह गरेका पीएनकी श्रीमती शर्मिला पनि दोहोरी गाउन माहिर थिइन । काठमाडौँमा दोहोरी गाउँदै छोराहरूलाई गुणस्तरीय शिक्षा दिने योजना उनीहरूले बनाएका थिए ।
आफ्नो गायन प्रतिभालाई पनि दोहोरी साँझमै सीमित गर्न चाहँदैन थिए पिएन । शर्मिलाकै सुझावअनुसार पहिलोपल्ट लोक स्टारमा भाग लिए । त्यो बेला शब्द बिर्सेर उनी अडिसन राउन्डबाटै आउट भए । दोस्रो प्रयासमा उनले अडिसन राउन्डबाट सिधै लोक स्टारको अन्तिम २० मा प्रवेश पाए । तर उनलाई प्रोत्साहन गर्न अहिले शर्मिला छैनन् ।
शर्मिलाको निधनपछि आफूलाई सम्हाल्न निकै गाह्रो भएको उनी बताउँछन् । अझ त्यो सानो बच्चाले आमा खोज्दा त उनी भक्कानिन्थे । भन्छन् यादहरू कहिल्यै नमेटिँदा रहेछन् । बच्चाले निकाल्ने शब्द शब्दमा शर्मिलाको याद लपेटिएर आउँथे । सानो छोराले खानेकुरा माग्दा पनि उनकै याद आउने, ठुलो छोरालाई स्कुल पठाउने बेला उनकै याद आउने । दोहोरीमा छँदा राति सधैँ फोन गर्थिन, फोन नआउँदा पनि याद नै आउने । कोठाको ढोकामा पुग्दा पनि उनकै याद आउने ।
शर्मिलासँगको बिछोडले कहिलेकाहीँ आत्महत्या गर्न उक्साएको पिएन बताउँछन् । श्रीमती बितेको ६ महिनासम्म राति राति उनी बेस्सरी रोए रे । रोएर शर्मिला आउँथिन् भने उनी आँसुको समुद्र बगाउन तयार थिए । तर, यस्तो हुनेवाला थिएन । दोहोरी साँझबाट २ बजे फर्किन्थेँ । धेरैजसो त बसपार्कमा चिया र चुरोट खाएर उज्यालो पार्थेँ । नभए घरमा आएर विरहका गीत सुन्दै रुन्थेँ, उनी भन्छन् ।
चिनेकै एक जना दाइले सम्हालिएर अघि बढ्न, आफ्नो प्रतिभाअनुसार काम गर्न र छोराहरूका लागि काम गर्न दिएको सुझाव घत लागेपछि उनले मर्ने सोच त्यागिदिए र ध्यान दिएर काम गर्न थाले ।