ट्रेण्डिङ

होमपेज / कला/साहित्य

प्रिय प्रतिरोध !

  सल्यान खबर डेस्क २०७८ आश्विन २४ गते आइतबार १३:१७:५६ मा प्रकाशित

प्रिय प्रतिरोधै !

तिमी शान्ति हराएको 

आनन्द बिर्सिएको

धेरै पाएर पनि अभावमा बाँचेको 

आक्रान्त भएले भरिएको प्राणी

यो कोलाहलमय संरचनाबाट

एक इन्चमाथि उक्लेर हेर

 

हरेक बिहान तुलसीका मठमा भेट्नेछौ

इन्द्रेनी जस्तो मुस्कान

शान्तिको शाश्वत स्वर

स्वच्छन्द फूलहरूले सजिएको मठ

सुख होइन खुसीले ओतप्रोत मुहार

मौनताको मिर्मिरे बिहानसँगै देख्नेछौ

मेरी आमाको विशाल छाती

उस्तै स्पष्ट छालहरू, तरङ्गहरू

 

भय, क्रोध, घमन्ड सबै बिर्सेर एकै छिन

अन्तर्बोधको पिँधबाट एकाकार भएर नियाल

वसन्तको सुकुमार प्रारम्भ 

कलिलो सूर्योदय 

सुस्तरी प्रवाहित अमृतमय रस

अनुप्रास आनन्दको अनुभव 

 

अन्धकार, भ्रम, बेकामे व्यस्तता त्यागेर

एक मुठ्ठी शान्तिसहित

त्यो आँगनमा प्रवेश गर

निकाल थोरै समय

आमाले युगौँदेखि जोगाइराखेको

सगोल जिन्दगीको सुन्दर कथन

सिक, के के गर्नुपर्छ

छिमल्न अन्धकारका हाँगा

 

प्रिय प्रतिरोध ! 

सुनाइदिनू सकुशल जितको खबर

म हारेर पनि नहार्ने सन्तान

सपनाको सुन्दर वाहनमा सवार एउटा यात्री

 

परिचित छु

आक्रमणसँग 

जतिसुकै उल्टो बगे पनि समय, गरे पनि विध्वंस 

डगमगाउँदैन भरोसा 

दुरुस्त आफ्ना जस्ता देखिने पराइहरू 

विषालु बिच्छी, अजिङ्गर

कठोर उकालो, घाम छाया

रुखो बतास, आँधी भुँवरीका बिच

मसँगै बाँचिरहेछ 

लय र प्रलय छुट्याउन सक्ने चेतना 

 

बेहोर्न सक्छु 

पदचापको उतारचढाव 

कालो मेघ बनेर कुनै बखत 

बर्सन सक्छ मुसल धारे वर्षा 

चट्याङ पर्न सक्छ

यद्यपि नआत्तिईकन कठोर यथार्थसँग 

आँखा जुधाउन 

सिकाएको छ

आमाकै सिप सङ्घर्ष र दैनिकीले 

 

प्रिय प्रतिरोध !

प्रेमको अनुपम शृङ्खलाबाट 

सिकेको जीवनको उच्चता 

अस्तित्वको सुमधुरता

आमाको निर्दोषपनाले 

अन्तरङ्ग रङ्गिन पालुवा

यो हृदयको कुनामा सुरक्षित छ 

प्रेमको स्पष्ट छाया

र आभासको प्रक्षेपण

दुरुस्त जिन्दगीको प्रशान्त पोखरी

व्यस्त भिडको यो कोलाहलमा पनि

प्रिय छन्

जिन्दगीलाई चिमोटिरहने 

अनगिन्ती सपनाका सुन्दर बाटाहरू 

 

थुप्रै सन्दर्भहरू छन् सम्भावनाहरू छन् 

कहिले फर्कन्छे । 

आमाको प्रश्न हुनेछ सायद

जवाफमा भनिदिनु

जब भेटिनेछ आकाङ्क्षाको गन्तव्य, स्वरुपवत् पथिक 

उघारिनेछ जीवनको पर्दा

खडा हुनेछ अस्तित्व

समाप्त हुनेछन् निर्भयहरू 

थचार्नेहरू उफार्नेहरू 

 

प्रिय प्रतिरोध !

यो पनि सुनाइदिनु

पहिरो गएर अवरुद्ध हुनेछैन सपनाको बाटो 

यसै यसै ठेस लाग्नेछैन 

यात्रा रोकिने छैन

 

विद्रोहका ज्वारभाटा

जिन्दगीको हरेक यात्राका अनुभूतिमा

लछप्पै भिजेर

सबका सब अनुरागसहित

आमालाई जस्तै सम्झिरहेकी छु

समाजलाई

अन्धविश्वासका पर्खाललाई

समाजसितै टाँसिएका 

कुसंस्कारलाई

सुदूर र कर्नालीदेखि राजधानीसम्मका

विभेद, क्रूरताका स्तम्भलाई 

अनन्त सम्झनाको बिम्ब 

प्यारो घर आँखामा छ 

दैनिकीका भीर र अक्करमा

 

प्रिय प्रतिरोध !

प्रकट नगरिएका नभनिएका अंश

सुनाइदिनू मेरी आमालाई

म लेख्न चाहन्छु 

गणतन्त्र आएको बर्सौँ बित्दा पनि 

पेटभरि खान नपाएका, आफ्नै घरमा बस्न नपाएकाहरूका

आदिम दुःखका पहाड

निरीह बिम्ब

अलिखित जीवन भोगाइ

कहिल्यै नबिउँझने गरी निदाउनु अगावै

वर्षौँदेखिका मौन ओठबाट

सशक्त, दृढ र आत्माविस्वासले भरिएको बुलन्द आवाज 

म सुन्न चाहन्छु !

श्रष्टा मिना खड्का राप्ती साहित्य परिषद् सल्यानले आयोजना गरेको सल्यान कविता संग्राम २०७८ मा प्रथम हुनु भएको हो । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top