ट्रेण्डिङ

होमपेज / कला/साहित्य

‘रहर’ले बिउँझाएको रहर

  सल्यान खबर डेस्क २०७८ जेठ २९ गते शनिबार १४:३०:४६ मा प्रकाशित

आज बिहान मामाले फोनमा सोध्नुभएको थियो, ‘भान्जा, जोरपाटीबाट एउटा केटीको कुरा आको छ । हेर्ने त एकफेर ?’ खै ! फेरि पनि काठमाडौँमा घर छैन भनेर कुरा बिग्रिने हो कि ?

मैले अन्तिम कथाको अन्तिम पृष्ठको अन्तिम वाक्यबाट सुरु गरेँ, यहाँ ‘रहर’ कोट्टयाउन । चलचित्रको फ्ल्यासब्याकजस्तै या भनौँ खेलकुदको हाइलाइटजस्तै वा कुनै पूरा भिडियोको क्लिप्सजस्तै रहर रिभ्यू गर्न खोजेँ । रहरमा कथाकारका धेरै रहर पोखिएका छन् । बालापनका रहर, यौवनका रहर, प्रौढपनका रहर । पूरा हुन नसकेका रहर, पूरा भइसकेका रहर । 

‘नास्पाती’ शीर्षकबाट सुरु भएको कथा संग्रह ‘बेहुला बन्‍ने रहर’ शीर्षकमा पुगेर अन्त्य भएको छ । जम्माजम्मी तेह्रवटा कथा समेटिएको कथा संग्रह ‘रहर’ पढ्ने अवसर जुटाइदिएकामा मेरो गाउँले साथी विमल आचार्यप्रति आभारी छु । कुनै समय आफ्नो गाउँमा हामीले क्लब खोल्ने, गाउँमा ससाना नानीबाबुलाई सँगै पढाउने, गाउँमा रहरका अनअनभाँती काम गथ्र्याैं । आईए पास भएपछि उनी काठमाण्डू गए । दसैँमा मात्र भेट हुन थाल्यो त्यसपछि । पत्रकार तथा लेखक विमललाई काठमाडौँबाट किताब पठाइदिएकामा धन्यवादको औपचारिकता दिँदै लेखन सुरु गरौँ । 

यवा कथाकार सुरेश बडालसँग केही वर्षअघिदेखि म फेसबुकमा जोडिएको छु । फेसबुक फ्रेन्ड भएकै कारण उनका रमाइला अनि घतलाग्दा लेख तथा स्ट्याटस नियमित पढ्दै आएको थिएँ । अरु फलोअर्सले जस्तै मैले पनि उनका लेखमा बेलाबेलामा कमेन्ट पोस्ट गर्दै आएको थिएँ । बजारमा उनको कथासंग्रह ‘रहर’ प्रकाशित भएको जानकारी पाएँ । ‘रहर’
पढ्ने रहर भो ।  

‘रहर’ देख्‍ने रहर भो । ‘रहर’ बुझ्‍ने रहर भो । तर रहर गरेर मात्र के गर्नु ? मेरो घर सल्यान सदरमुकाम छेवैमा भएर पनि खोजेजस्ता रोजेजस्ता पुस्तक-पत्रपत्रिका सजिलै मिल्दैन । एउटा गतिलो पुस्तकालयको अभावमा पठन संस्कृतिको विकास हुन सकेको छैन यहाँ । हरेक वर्ष लाखौँ करोडौँ बजेट मन्दिर, बाटो अनि चौतारोहरू मात्र बनाउने र भत्काउने काममा विनियोजन हुने मेरो ठाउँमा एउटा गतिलो पुस्तकालय सञ्चालनमा आउन नसक्दा उदेक लाग्छ । यस विषयमा दोषी को ? छलफल र बहसको टड्कारो आवश्यकता छ । आगामी स्तभहरूमा त्यसबारे कुरा गरौँला । अँ त म रहरबारे कुरा गर्दै थिएँ । 

लेखक आफ्नो बाल्यकाल यसरी सम्झन्छन् : मेरो घरको आँगनमै थियो, नास्पातीको बोट । हलक्क बढेको किशोरजस्तो बोट अग्लिएर धुरीमाथि पुगेको थियो । म त्यो रुख चढ्न सक्थेँ तर मलाई नासपातीको बोट चढ्न प्रतिबन्ध लगाइएको थियो । एकदिन मैले स्कुल जाँदा झोलामा नास्पाती लगेको थिएँ । घरमा फलेको नास्पाती साथी राजेन्द्रलाई देखाउनु थियो । बेन्चको नास्पाती ठोकेर फुटाउनु थियो । आधा टुक्रा साथी राजेन्द्रलाई दिनु थियो । उसले नास्पाती खाएको हेर्नु थियो । नास्पाती चपाइरहेका दाँत र जिब्रोको सुरक्षाकवच बनेर बन्द भएका ओठबाट रसाएको रसलाई चाटिसकेपछि खुलेको हेर्नु थियो । ओठ च्यातिएर ‘आहा, कस्तो मीठो’ भनेको सुन्‍नु थियो । तर राजेन्द्रले केही भनेन । फगत नास्पाती खायो । (कथा शीर्षक ‘नास्पाती’)

बाले गाला रन्कने गरी कुटेपछि मैले घर छाड्ने निर्णय गरेँ । मलाई आफू गुटुटु गरेर भुइँतलामा धुलो झार्दै कुदेका चोटाकोठा आफ्ना लागेनन् । आमाले ‘चप्पल अलि परै खोलेर आइज’भन्दा पनि नटेरेर पट्यासपट्यास चप्पल पड्काउँदै पसेको भान्साकोठा आफ्नो लागेन । मलाई त घरका आँगन, पिँडी, भित्ता, दलिन सबै बाका लागे । बाले साह्रै चित्त दुखाइदिएका थिए । मन कुँडिएको थियो । (कथा शीर्षक ‘घर छाड्ने योजना’)

मलाई के थाहा, कतैबाट सुनेर आमाले वर्णमाला कण्ठस्त गर्नुभएको थियो । तर अक्षर लेख्‍न जान्‍नुहुन्‍न । आफैँले बोलेका अक्षर र शब्द कतै लेखिएको भेटिए आमा पढ्न जान्‍नुहुन्‍न । मलाई के थाहा, आमा आफ्नै नाम पनि लेख्न सक्नुहुन्‍न । जब थाहा पाएँ, नमज्जा लागेर आयो । आमाले मार्कसिट हातमा लिनुभयो । मैले कलम दिएँ । आमाले त्यो पनि समात्‍नु भो । कोदालो दह्रा हुन्थे । हँसिया समाउँदा पनि काँप्थेनन् । तर कलम समाउँदा आमाका औँला थरथर काँपे । सही गर्ने कोठामा मैले औँलाले देखाएको थिएँ । त्यही कोठामा आमाको एक थोपा आँसु खस्यो । तर आमाको नाम लेखिएन । (कथा शीर्षक ‘आमाको पढाइ’)

पढ्ने हुनु भनेको त अरु कुरामा कमजोर हुनु रहेछ । म खेलकुदमा कमजोर भएँ । गीत गाउन अनि नाच्नमा कमजोर भएँ । हाम्रो कथामा भिलेनको आगमन भइसकेको थियो क्यारे । स्कुल डेको दिनमा तिम्रो कम्मर समाएर नाच्न भनेर महिना दिनदेखि तिम्रो कम्मर समाएर रिहर्सल गरिबसेको थियो, हेमन्ते । (कथा शीर्षक ‘पीर’)

दसैँको अष्टमीको दिन हाम्रै घरमा पालेको खसी काट्ने आमाको कुराले आङ सिरिङ्ग भयो । मलाई रातरातभरि निद्रा पर्न छाड्यो । मलाई आफ्नोजस्तै आत्मा भएको हाम्रो पाठो ठ्याक्कै आफैँजस्तो लाग्न थाल्यो । मलाई त्यसको साह्रै माया लाग्न थाल्यो । त्यो बोल्छ कि जस्तो लागेर म कोही नहुँदा त्योसँग बोल्न खोज्थेँ । तर निष्ठूरी भने मलाई वास्तै नगरी एक्लै एक्लै उफ्रेर खेल्न हिँड्थ्यो । मैले देख्दादेख्दै हाम्रो पाठो हलक्क बढेर खसी भइसकेको थियो । हान्‍ने भइसकेको थियो । त्यति माया गरिराखेको खसीलाई आमाले काट्ने भनिदिँदा मलाई ज्वरो आउलाझैँ भयो । सहनै नसकेर आमालाई भनेँ, ‘हाम्रो खसी नकाटूँ न है ?’ (कथा शीर्षक ‘दसैँ होमवर्क’)

 

रहर पढ्दा कहिले म एक्लै हाँसेँ । कहिले मेरो आँसु खस्यो । आफ्नै जीवनको बालापन सम्झिएँ । आफ्नै स्कुले जीवन सम्झिएँ ।

साउन १३ को त्यो दिन मेरो लभ पर्‍यो । तर सिनेमाको हिरोलाई जस्तो मलाई ठाउँको ठाउँ गीत गाउन आएन । न त हेहेहे, लालाला, गर्दै मेरा पछिपछि उस्तै लुगा लगाएका ठिटाठिटीहरू नाच्न आए । न त एकैचोटि फ्याट्ट उडेर फूलैफूलको बगैँचामा नाच्न पुगेँ । तैपनि मेरो चुपचाप लभ पर्यो । हाम्रो लभ परेको दिन बर्खाको अरु सामान्य दिन जस्तै थियो । आकाश खुला पनि थिएन । पर क्षितिज सिन्दुरे पनि भएन । बरु आकाश कालो बादलले डम्म ढाकिएको थियो । कविता र गीतहरूमा भनिने जस्तो सिमसिम वर्षा पनि भएन । बरु घनघोर झरी परिदियो । टेलिसिरियलमाजस्तो उनी र म एउटै छाता ओढेर घरतिर फर्किन पनि सकेनौँ । छाता नै भाँचिनेजस्तो मुसलधारे जो परेको थियो । दिन बिहानैदेखि कालोनीलो थियो । ठिक्क स्कुल छुट्ने बेलामा फिर्र पानी बर्सियो । सबै साथीहरू हतार हतार झोला बोकेर घरतिर कुदे । तर हाम्रो झोला बाँधिदिएका रहेछन् फटाहा साथीहरूले, हाम्रो लभ परोस् भनेर । झोला बाँधेपछि लभ पर्ने चलन जो थियो स्कुलमा । गाँठो फुकाउँदा फुकाउँदै हाम्रो लभ पर्‍यो । झोलाले लगनगाँठोको काम गर्यो । हाम्रो नाता कस्सियो । रुपा र म एकअर्काका लभर भयौँ । (कथा शीर्षक ‘बोल्ने आँखाहरू’)

कथामा यस्ता मीठा पंक्ति धेरै नै छन् । मैले सुरेश बडालको कथासंग्रह ‘रहर’का क्लिप्स यहाँ राखेँ । पूरा कथा पढ्न तपाईंहरूको हातमा पुस्तक नै पुग्‍नुपर्छ । त्यो जिम्मेवारी तपाईंहरू आफैँको है त । फाइनप्रिन्टले प्रकाशन गरेको लेखक बडालको यो पहिलो कृति हो । पहिलो कृति भए तापनि लेखकको लेखनशैली अब्बल लाग्यो । यसमा सबैभन्दा मन छुने पक्ष भनेको आम नेपालीको जीवनशैलीलाई आकर्षक कलात्मक शैलीमा प्रस्तुत गर्नु । हरेक कथा पढ्दा हरेक पाठकले आफैँले भोगेको र आफ्नै परिवेशमा घटेका घटनाहरूको अनुभूति हुने गर्छ । लेखकले बाल मनोविज्ञान, बालसुलभतादेखि किशोर हुँदै प्रौढावस्थाका रहर, भोगाइ र यथार्थलाई अत्यन्त कलात्मक शैलीमा कथामा उतारेका छन् ।

लेखकका कथाहरूमा सामाजिक तथा जातीय विभेद, पुरुषप्रधान समाज र यसबाट महिलाले झेल्नुपरेका समस्या चित्रित भएका छन् भने मध्यमवर्गीय समाजमा जन्मेका युवाहरूले भोग्नुपर्ने समस्यालाई पनि औँल्याएका छन् । कथाकारले म पात्रका रुपमा उभिएर बालक कालका घटनाहरू, त्यसबेलाको अबोधपन अनि निश्छलतालाई प्रस्तुत गर्दा हरेक व्यक्ति आफ्नो शैशवकालमा हराउँछ । 

किशोर कालका घटना, त्यसबेलाको उत्सुकता र कल्पनाको संसार प्रस्तुत गर्दा मन त्यसै रमाएर आउँछ । रहरभित्र जिन्दगीका घामछायाँ, सुखदुःख, प्रेमबिछोडका कथा छन् । रहर पढ्दा कहिले म एक्लै हाँसेँ । कहिले मेरो आँसु खस्यो । आफ्नै जीवनको बालापन सम्झिएँ । आफ्नै स्कुले जीवन सम्झिएँ । आफ्नै छिमेकी काकीलाई सम्झिएँ, जसलाई आफ्नै लोग्नेले छोडेर अर्काकी स्वास्नी लिएर विदेश पसेको थियो । आफ्नै कलेज जीवन सम्झिएँ जतिबेलाको कठिन यात्राहरू चालिएका थिए । 

आफ्नै आमालाई सम्झिएँ जसलाई परिवारका सबै सदस्यहरूबारे सबै कुराको ज्ञान थियो । मेरा हर समस्याहरूबारे ज्ञान हुन्थ्यो । बुबालाई भन्‍न नसकिने हर पीडाहरू म मेरी आमालाई सुनाउँथेँ । परिवारमा हर कुराको जानकारी भएकी मेरी आमालाई अक्षरको ज्ञान थिएन । रहर पढ्दा मैले एक राजनीति गर्ने छिमेकी नेता सम्झिएँ ।

जसले जिन्दगीभर आस्थाको राजनीति गरे तर उनीमाथि सधैँ अरु कसैले नै राजनीति गर्‍यो । आफ्नै गाउँघरका निरीह जनता सम्झिएँ । जसलाई नेताहरूले मात्र प्रयोग गर्छन् । कहिले चुनावी अस्त्र बनाउँछन् कहिले सिँढी बनाउँछन् । समग्रमा मैले आफैँलाई र आफ्नै परिवेशलाई सम्झेँ । अन्तमा कथाकार सुरेश बडाललाई धेरै धेरै बधाई तथा शुभकामना । लकडाउनको यो कठिन अवस्थामा सञ्जीवनीका रुपमा यो पुस्तक उपलब्ध भयो । कृतज्ञ छु ।

Eकागज

प्रतिक्रिया

सम्बन्धित खवर

Top