ट्रेण्डिङ

होमपेज / कला/साहित्य

संकटमा सल्यानका लोक संस्कृति

  दिपक शर्मा २०७७ फाल्गुण २ गते आइतबार १८:३४:५६ मा प्रकाशित

सल्यान : सल्यानका परम्परागत लोक संस्कृति बिस्तारै लोप हुँदै गएको छ। पैसेरी, सोरठी, मयुर नाँच, साइलो जी, ठाडो भाका लगायतका लोक संस्कृति हराउँदै जान थालेका छन्। 

गाउँघरका ज्येष्ठ नागरिकहरुमा मात्र सीमित बनेका संस्कृति जर्गेनातिर स्थानीय सरकार र युवा पुस्ताको ध्यान नगएकाले लोप हुँदै गएको हो। आफ्नो पुस्तासँगै पुराना संस्कृति पनि सकिने हो कि भन्ने चिन्ताले सताउने गरेको त्रिवेणी गाउँपालिका–४ पिमखोलाका विष्णुबहादुर बुढाले बताउँछन्। उनले मेला, पर्व र सार्वजनिक उत्सवमा नाचिने नाचहरु हराउँदै गएको बताए। उनले भने, ‘आधुनिक गीत÷संगीत र प्रविधिका कारण युवापुस्ता संस्कृति संरक्षणबाट टाढा हुँदै गएका छन्।’

युवालाई संस्कृति हस्तान्तरण गर्न खोजे पनि अनिच्छुक हुँदा समस्या भएको मैसर बुढाले बताउँछन्। ‘बेरोजगारीका कारण अधिकांश युवा विदेश गए,’ उनले भने, ‘गाउँमा बस्नेले पनि सीप सिक्ने इच्छा देखाउँदैनन्।’

सोरठीले सल्यानको पहिचान जोगाएको थियो। सोरठी अघिल्ला पुस्ताले बसाइँसराइ गर्ने क्रममा पूर्वी क्षेत्रबाट भित्र्यााएको ६० वर्षीय चन्दबहादुर ओली बताउँछन्। ओलीका अनुसार त्रिवेणीको पिमखोलाबाटै जिल्लाभरि सोरठी फैलिएको हो। ‘कृष्ण र गोपिनीको प्रेमसम्बन्धलाई आधार बनाएर नाचिने सोरठीकै कारण पुर्खा देशभर चिनिए,’ उनले भने, ‘पुराना लोकभाका, नाच र बाजागाजासँग हाम्रो अस्तित्व जोडिएको छ।’

सल्यानका १० गाउँपालिकामध्ये त्रिवेणी गाउँपालिकाले स्थानीय संस्कृति संरक्षणका लागि गाउँगाउँमा समूह बनाएको छ । विभिन्न चाडबाड, पर्व, मेलालगायत सार्वजनिक जमघटमा समूहले विभिन्न लोपोन्मुख नाच, गीत, बाजा प्रदर्शन गर्दै आइरहेको छ।

पुराना लोक संस्कृतिको सरक्षण एवं प्रवर्द्धन गर्नु स्थानीय सरकारको प्रमुख दायित्व भएकाले संरक्षणमा लागि परेको त्रिवेणी गाउँपालिका अध्यक्ष मानबहादुर डाँगीले बताए। उनले भने, ‘मौलिक संस्कृति हाम्रा चिनारी हुन्, संरक्षणका लागि कार्यविधि बनाएरै अगाडि बढ्ने हाम्रो योजना छ।’ लोक संस्कृतिको संरक्षण गर्न प्रत्येक वर्ष गाउँपालिकाले सांस्कृतिक महोत्सव गर्दै आइरहेको बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

Top