ट्रेण्डिङ

होमपेज / अर्थ

सल्यानबाट २९ करोडको सुन्तला निकासी

  सल्यान खबर डेस्क २०८१ बैशाख ११ गते मंगलबार १४:१०:४४ मा प्रकाशित

वैशाख ११,सल्यान 

सल्यानबाट यस वर्ष २९ करोड रुपैयाँभन्दा बढीको सुन्तला निकासी भएको छ। जलवायु परिवर्तन, सुन्तलामा रोगकिराको प्रकोपजस्ता कारण गत वर्षभन्दा यस वर्ष उत्पादनमा भने कमी आएको छ।

सल्यानमा यस वर्ष ३८ हजार ६ सय ५३ क्विन्टल सुन्तला निकासीबाट २९ करोड ३४ लाख ६६ हजार रुपैयाँ जिल्लामा भित्रिएको कृषि विकास कार्यालय सल्यानले जनाएको छ।

गत वर्षभन्दा यस वर्ष ११ प्रतिशतले उत्पादन घटेको कार्यालयका प्रमुख रेशमकुमार बस्नेतले जानकारी दिए। उनका अनुसार गर्त वर्ष ३३ करोड ७० लाख रुपैयाँबराबरको सुन्तला जिल्लाबाहिर निकासी भएको थियो।

यस वर्ष सबैभन्दा धेरै बागचौर नगरपालिकाबाट १८ हजार दुई सय ९५ क्विन्टल सुन्तला निकासीबाट १५ करोड २० लाख ३० हजार  रुपैयाँ भित्रिएको छ। यस्तै छत्रेश्वरी गाउँपालिकामा आठ करोड ६५ लाख ९९ हजार तथा त्रिवेणी गाउँपालिकामा किसानले ५२ लाख ४७ हजार रुपैयाँ आम्दानी गरेका छन् 

यस्तै, सिद्ध कुमाख गाउँपालिकाबाट एक करोड ८० लाख १५ हजार, कुमाख गाउँपालिकाबाट ८२ लाख ५० हजार, शारदा नगरपालिकाबाट एक करोड १९ लााख २५ हजार, बनगाड कुपिण्डे नगरपालिकाबाट ५९ लाख ३७ हजार र कपुरकोट गाउँपालिकाबाट ४२ लाख ४८ हजार रुपैयाँको सुन्तला जिल्लाबाट बाहिरिएको बस्नेतले जानकारी दिए।

यस वर्ष किसानले ५५ देखि एक सय १० रुपैयाँ प्रतिकिलोसम्मले सुन्तला बिक्री गरेको उनको भनाइ छ। बागचौर नगरपालिकाका सुन्तला बगैँचामा केही रोगकिराको संक्रमण हुँदा उत्पादन घटे पनि अन्य पालिकामा भने उत्पादनमा वृद्धि आएको उनको भनाइ छ।

सल्यानका १० स्थानीय तहमध्ये कालीमाटी गाउँपालिकाबाहेक अन्य नौ तहमा व्यावसायिक सुन्तला उत्पादन हुँदै आएको छ। जिल्लामा एक हजार चार सय ४५ हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुँदै आइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top