होमपेज / स्वास्थ्य
असार १९,सल्यान
१५ शैश्याको सल्यान जिल्ला अस्पताल सल्यानले विशेषज्ञ सेवालाई बढाउदै लगेको छ । सल्यान, रुकुम र रोल्पाका विरामीलाई सेवा दिदै आइरहेको सल्यान जिल्ला अस्पतालले पेट तथा मुटु सम्बन्धी विशेषज्ञ सेवा सुरु गरेको छ ।
अस्पतालले इन्डोस्कोपी, कोलोनोस्कोपी र इकोकार्डियाग्राफी सेवा बिहिबारदेखि सुरु गरेको हो । इन्डोस्कोपी लगायतका सेवा लिनका लागि दाङ नेपालगञ्ज लगायतका विभिन्न अस्पतालमा धाउनु पर्ने बाध्यतालाई अन्त्य गर्दै जिल्लामै पहिलो पटक विशेषज्ञ सेवा सञ्चालनमा ल्याइएको स्वास्थ्य सेवा कार्यालय सल्यानका स्वास्थ्य सेवा व्यवस्थापक डा. अर्जुन बुढाले बताउनु भयो । उहाँले भन्नु भयो ‘इन्डोस्कोपी मुखदेखि पेटसम्म समस्या पहिचान गर्नका लागि गरिन्छ भने कोलोनोस्कोपी दिसा आउने भाग वा मलद्धारबाट पाइप छिराएर मलद्धारको भित्री अवस्था र ठुलो आद्राको अवस्था परीक्षण गरिन्छ ।’
यस्तै अस्पतालमा मुटु रोग पहिचानका लागि इकोकार्डियोग्रामी सेवा समेत सुरु गरिएको छ । जिल्ला लगायत देश भर मुटुका रोगका बिरामी बढ्दै जाँदा यस प्रकारको सेवा विस्तार गरिएको डा. बुढाको भनाई छ । पेट र अन्ननलीको भित्रि भागको भिडियो परीक्षण गरी अल्सर, क्यान्सर, अपच, ग्यास्टिक, रक्तश्राव र मुटुको समस्याको निदान गर्न अस्पताल प्रतिवद्ध रहेको उहाँले बताउनु भयो ।
सिमित स्रोत साधन, जनशक्तिको अभावका बिच पनि नागरिकलाईजिल्लामै सेवा प्रवाह गर्न तत्कालका लागि तीन प्रकारका सेवा सञ्चालनमा ल्याइएको अस्पताल विकास समितिका अध्यक्ष प्रमोद श्रेष्ठले बताउनु भयो । उहाँले भन्नु भयो सिमित स्रोत साधनका बावजुद पनि सेवा विस्तार गरि रहेका छौं तर संघ र प्रदेशले भने बजेट कटौती गर्दै गइरहेको छ । उहाँले भन्नु भयो ५० शैश्याको अस्पताल बनाउन सकिए सल्यान लगायत छिमेकी जिल्लाका बिरामीलाई सेवा प्रदान गर्न सहज हुने थियो ।
कर्णाली प्रदेश सरकारको एक करोड लगानीमा इन्डोस्कोपी, कोलोनोस्कोपी र इकोकार्डियाग्राफी लागतमा खरिद गरिएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ ।





.jpg)