ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा देउसी–भैलोबाट उठेको रकमले प्रतीक्षालय निर्माण

  सल्यान खबर डेस्क २०८२ कार्तिक २१ गते शुक्रबार १९:०५:२९ मा प्रकाशित

सल्यानको शीतलबजार भैली समूहले देउसी–भैलोबाट संकलन भएको रकम सामाजिक कार्यमा लगाएको छ। देउसी–भैलोबाट ४२ हजार रुपैयाँ उठेकोमा ४० हजार रुपैयाँ यात्रु प्रतीक्षालय निर्माणमा खर्च गरेको समूहका अध्यक्ष डम्बरबहादुर बस्नेतले जानकारी दिए।

प्रतीक्षालय निर्माणको यो कार्यले परम्परागत संस्कृतिलाई विकास निर्माणसँग जोडेर स्थानीयस्तरमा सामाजिक रूपान्तरण गर्न सकिन्छ भन्ने सन्देश दिएको उनको भनाइ छ। ‘हामीले देउसी–भैलोलाई केवल मनोरञ्जनमा सीमित नराखी गाउँको अत्यावश्यक पूर्वाधार निर्माणमा लगाउने अठोट गर्‍याैँ। यो प्रतीक्षालयले बाटो हिँड्ने र गाडी कुर्न बस्ने यात्रुहरूलाई ठुलो राहत प्रदान गर्ने विश्वास लिएका छौँ,’ उनले भने।

त्रिवेणी गाउँपालिका– ३ का वडाध्यक्ष कर्णदेव डाँगीले यस कार्यको प्रशंसा गर्दै युवाहरूले देखाएको सामाजिक उत्तरदायित्व अन्य समुदायका लागि पनि प्रेरणादायी भएको बताए। वडा नम्बर ३ का निवर्तमान वडाध्यक्ष हुकुमप्रसाद महताराले सार्वजनिक स्थानमा रहेको प्रतीक्षालयलाई आफ्नै निजी सम्पत्ति जसरी माया गरी संरक्षण गर्नुपर्ने बताए।

बाँकी रहेको रकम अर्को वर्ष यस्तै सामाजिक कार्यमा खर्च गरिने भैली समूहका सदस्य शेरबहादुर बस्नेतले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

Top