होमपेज / समाज
असोज ४ गते साँझको साढे ६ बजेको थियो । बनगाड कुपिन्डे नगरपालिका– ९ रातामाटाकी ५९ वर्षीया भगी विक घरभित्र भात पकाइरहेकी थिइन् । श्रीमान् ढोले विक आँगनमा बसिरहेका थिए । चटक–चटक आवाज आउन थाल्यो, घर भत्किन थाल्यो कि के हो बुढी बाहिर आइछ भनेर ढोले विकले भने । पाकेको भातको भाँडो लिएर भगीले के दैलोबाट खुट्टा बाहिर राखेकी थिइन्, घर गर्ल्यामगुर्लुम ढल्यो । हेर्दाहेर्दै छिनभरमै खरानी भयो । बुढेसकालमा ओत लाग्ने घर र घरभित्र भएका अन्नपात तथा लत्ताकपडा सबै पुरिएपछि बेसहाराजस्तै भयो वृद्ध विकदम्पती ।
स्थानीय वडा सरकार र समुदायले तत्काल छिमेकीको घरमा आश्रय लिने व्यवस्था गर्याे। छोरा नभएको र चार छोरी विवाह गरेर गइसकेकाले उनलाई संरक्षकको अभाव खट्कियो । त्यही अभाव र पीडालाई मल्हम लगाउन पुगे नेपाल प्रहरी, स्थानीय सरकार र समुदाय ।
जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी नायब उपरीक्षक डा. हेम केसीको नेतृत्वमा भत्किएको घर पुनर्निर्माण गरिने भयो । प्रहरी, सरकार र स्थानीयको सहयोगमा भत्किएकै ठाउँमा घर बन्ने भएपछि घर भत्किएदेखि झरेका भगी विकको आँसु र ओठमा केही चमक देखियो ।
प्रहरी प्रमुख केसीले आफैँ फिल्डमा खटिएर घर निर्माणमा जुटे र निर्माण थालेको केही दिनमा नै घर सम्पन्न भयो । छोरोको रूपमा आएर बुढेसकालमा सहारा बनिदिएकोमा भगी विकले प्रहरी प्रमुख केसीलाई धन्यवाद ज्ञापन गरे। उनले हामी बुढाबुढीले घर बनाउन सक्ने अवस्था थिएन । छोरीहरू सबै विवाह गरेर आफ्नो आफ्नो घर गइहाले । छोरा छैनन् । तर, आफ्नै छोरा जसरी प्रहरी प्रमुखले हाम्रो घर बनाइदिनुभयो विकले भने ।
यस्तै, ३५ वर्षको जवानीमा दुई छोरा र श्रीमान् गुमाएकी ६६ वर्षीया अमृता परियारको जंगलको बिचमा रहेको खरको छाना हटाएर जस्तापाता हालिएको छ । शारदा नगरपालिका– ४ की अमृता परियारको जीर्ण रहेको थियो । स्थानीय युवाको सहयोगमा जस्तापाताले छाएको चिटिक्कको घर पाएपछि निकै खुसी लागेको उनको भनाइ छ ।
बागचौर नगरपालिका– ८ भण्डारीडाँडाकी ८० वर्षीया नोखा भण्डारी एकल महिला हुनुहुन्छ । छोरीले बिहे गरेर गएको र श्रीमानको मृत्युपछि एक्लै बस्दै आएकी उनको घर बस्नलायक थिएन । घर चर्किएको थियो । भित्ता फुटेर ढुंगा खस्थे। भूकम्प गएको वेलामै जोखिममा परेको घरमा नोखा हिउँद होस् या बर्खा यही जीर्ण घरमा बस्दै आएकी थिइन् ।
प्रहरीकै नेतृत्वमा नयाँ घर बनेपछि उनी अहिले निकै खुसी छिन् । उनले भनिन्, ‘नयाँ घर बनाउने पैसा थिएन, अर्को घर पनि थिएन, बाध्यताले यही घरमा बस्दै आएकी थिए । प्रहरीलाई धन्यवाद मेरो घर बनाइदिनुभयो ।’ जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार जिल्लामा चारवटा घर निर्माण गरिएको छ भने एउटा विद्यालय र एक घर निर्माणको अन्तिम चरणमा छ । आर्थिक अवस्था कमजोर भएका, गरिब, बेसहारा परिवारका लागि घर निर्माण गर्दै आइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायव उपरीक्षक डा. हेमबहादुर केसीले बताए ।
प्रहरी केवल कानुन कार्यान्वयन र अपराध नियन्त्रणमा सीमित संस्था होइन, नागरिकसँगै सुखदुःखमा हातेमालो गर्ने समाजसेवी संस्था पनि हो भन्ने सन्देश दिनका लागि यसप्रकारको अभियान सुरु गरिएको डा. केसीले बताए ।





.jpg)