ट्रेण्डिङ

होमपेज / समाज

सल्यान मदन भण्डारी राजमार्गमा जोडियो

शितलपाटी हुँदै सुर्खेतको बोटेचौर जोडिने

  सल्यान खबर डेस्क २०७७ असार १ गते सोमबार १८:५९:५१ मा प्रकाशित

 झापाको बाहुनडाँडादेखि डडेलधुराको रुपालसम्म निर्माणाधीन मदन भण्डारी राजमार्ग आयोजनाको केहीं भाग संशोधन भएको छ । सरकारले आर्थिक वर्ष २०७७/७८ को बजेटमार्फत मदन भण्डारी राजमार्गको केहीं भाग संशोधन गरेको हो ।

संशोधित आयोजना अनुसार अब मदन भण्डारी राजमार्ग रोल्पा र सल्यान हुँदै जानेछ । यससँगै रोल्पा र सल्यान राष्ट्रिय राजमार्गले जोडिनेछन् । हालसम्म रोल्पा र सल्यानलाई कुनै पनि राष्ट्रिय राजमार्गले छोएका थिएनन् ।

नयाँ बजेटको रातो किताबमा उल्लेख भएअनुसार मदन भण्डारी राजमार्ग गुल्मीको रिडी, प्यूठानको बिजुवार, रोल्पाको लिबाङ, सल्यानको शितलपाटी हुँदै सुर्खेतको बोटेचौर जोडिनेछ । यसअघि यो मार्ग गुल्मी–प्यूठान–दाङ हुँदै सुर्खेत जोडिने गरी आयोजना अगाडि बढाइएको थियो ।

आयोजनाको यस भागलाई रीडी–बिजुवार खण्ड, लिबाङ, शितलपाटी–बोटेचौर खण्डमा विभाजन गरिएको छ । यी खण्डमध्ये आगामी आर्थिक वर्षमा सिमलटारी–सौतामारे १५ कि.मि. तथा रिडी–बलकोट गोखुङ्गा ५५ कि.मि. खण्ड कालोपत्रेका लागि ठेक्कापट्टा हुनेछ । लिबाङ–शितलपाटी–बोटेचौर खण्डको १४० कि.मि. सडकको डीपीआर तथा आईईई/ईआईए अध्ययन सम्पन्न हुनेछ ।

यसरी सम्भव भयो मदन भण्डारी राजमार्ग आयोजना संशोधन

सरकारले आर्थिक वर्ष २०७५/७६ को बजेटमार्फत मदन भण्डारी राजमार्ग निर्माण आयोजना अगाडि बढाएको थियो । गुल्मी हुँदै प्यूठान पुगे पनि सो आयोजनाले रोल्पा र सल्यानलाई नजोड्ने भएपछि ती जिल्लाका जनता निराश बनेका थिए । पूर्वपश्चिम महेन्द्र राजमार्ग, मध्यपहाडी लोकमार्गले नछोएका ती जिल्लाका नेताहरुले समेत असहमति जनाउँदै मदन भण्डारी राजमार्ग रोल्पा र सल्यान भएर निर्माणका लागि पहल थालेका थिए ।

रोल्पा स्थायी घर भएका उपराष्ट्रपति नन्दबहादु पुन ‘पासाङ’, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन ‘अनन्त’ लगायत मदन भण्डारी राजमार्गलाई रोल्पा हुँदै अगाडि बढाउने गरी सुरुदेखि पहल थालेका थिए । उपराष्ट्रपति पुनले रोल्पा–सल्यान हुँदै निर्माण हुने गरी मदन भण्डारी राजमार्ग आयोजना संशोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओली र भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको ध्यानाकर्षण गराएका थिए । तात्कालिन भौतिकमन्त्री रघुबेर महासेठले मदन भण्डारी राजमार्ग रोल्पा–सल्यान हुँदै अगाडि बढाउने प्रतिबद्धतासमेत जनाएका थिए ।

गत पुसमा ऊर्जामन्त्री पुनको पहलमा प्रदेश नं. ५ का नेकपाका नेताहरुले छलफल गरेर मदन भण्डारी राजमार्गले गुल्मी–प्यूठान–रोल्पा–सल्यान हुँदै सुर्खेत जोड्ने गरी समझदारी गरेका थिए । गत माघमा रोल्पामा आयोजित एक महोत्सवको उद्घाटनमा मन्त्री पुनले सोको जानकारी गराएका थिए ।

उनकाअनुसार गत पुसमा परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीको कार्यकक्षमा ऊर्जामन्त्री पुन, पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, परराष्ट्रमन्त्री ज्ञवाली, पूर्वमन्त्री गोकर्ण विष्टले भौतिक मन्त्रालयका सचिव र सडक विभागका महानिर्देशकसहित छलफल गरेका थिए । सोही छलफलमा मदन भण्डारी राजमार्ग रोल्पा–सल्यानबाट अगाडि बढाउने र यसअघि निर्माण हुने भनिएको खण्डको सडक स्तरउन्नती गर्ने समझदारी बनेको थियो ।

Nagarikkhabar 

प्रतिक्रिया

सम्बन्धित खवर

Top