ट्रेण्डिङ

होमपेज / समाज

कोरोना परीक्षणबिनै नागरिक भित्रिँदा गाउँमा जोखिम

  सल्यान खबर डेस्क २०७७ जेठ १८ गते आइतबार १४:५२:५४ मा प्रकाशित

जेठ १८, २०७७ सल्यान : भारतबाट विभिन्न नाका हुँदै सल्यान भित्रिने नागरिकका स्वास्थ्य चेकजाँच नै नभएपछि कोरोना संक्रमण फैलिने खतरा बढेको छ।

कर्णाली प्रदेश सरकारले लकडाउनका कारण अलपत्र परेको नागरिकलाई उद्धार गरी सम्बन्धित जिल्लामा पठाउने निर्णय गरेको छ।

तर, उद्धार गरिएकाको परीक्षण गरिएको छैन।  सल्यानमा रोजगारीका लागि भारतका विभिन्न स्थानमा १७ हजारभन्दा बढी गएको स्थानीय तहले तथ्यांक संकलन गरेको छ। तीमध्ये लकडाउनको समयमा नै एक हजार ४०० बढी जिल्ला भित्रिएका छन्।

अझै करिब आठहजार जिल्ला भित्रिने अनुमान गरिएको जिल्ला प्रशासन कार्यालय सल्यानले जनाएको छ। बिनापरीक्षण उद्धार गरी ल्याउँदा संक्रमणको जोखिम बढेको दार्मा गाउँपालिका अध्यक्ष निम बहादुर केसीले बताउँछन्।  उनले भने, ‘स्वास्थ्य उपकरण, राहत सामग्री र आवश्यक बजेट त के सूचना पनि आदानप्रदान नगरी गुमराहमा पारिएको छ।’  भारतबाट आउने नागरिकहरुको नाकामा नै पिसिआर गर्न सके गाउँमा कोरोनाको जोखिम नहुने उनको भनाइ छ। 

परीक्षणका लागि संघ र प्रदेश सरकारले पहल नगर्ने हो भने अवस्था भयावह हुने कुमाख गाउँपालिका अध्यक्ष दिलमाया बुढा बताउँछिन्। उनले  भनिन्, ‘न हामी परीक्षण गर्न सक्छौं न डाक्टरहरु छन्।’

  हुलका हुल नागरिकहरु गाउँ आउन थालेपछि थेग्नै समस्या भइरहेको बनगाड कुपिण्डे नगरपालिकाका प्रमुख गोविन्दकुमार पुनले बताए। उनले भने, ‘१४ दिनसम्म विद्यालयमा भात खुवाएर घर फर्काउनुको विकल्प छैन।’

एक साताको अवधिमा बनगाड कुपिण्डे नगरपालिकामा  भन्दाएक हजार  बढी नागरिक भारतबाट फर्किएका छन्।  क्वारेनटाइनमा राखिएका व्यक्तिहरु समूहमा बस्ने गर्दा संक्रमणको खतरा बढेको छ। क्वारेनटाइनमा रहेका सीमित शौचालय र नुहाउने ठाउँ सबैल प्रयोग गरिरहेका छन्। 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top