ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा विद्युतीय अनुमतिपत्रको व्यवस्था

  सल्यान खबर डेस्क २०७७ बैशाख ४ गते बिहीबार १४:१६:५२ मा प्रकाशित

वैशाख ४, सल्यान 
जिल्ला प्रशासन कार्यालय सल्यानले  कोभिड –१९ को जोखिम हुन नदिन बन्दाबन्दी (लकडाउन) जारी रहेपछि अत्यावश्यकीय सवारी सञ्चालन अनुमतिका लागि आजदेखि  विद्युतीय अनुमतिपत्र (इ–पास) को व्यवस्था गरेको छ । 


सवारी पासका लागि प्रशासनमा हुने बढ्दो भीडभाड अन्त्य गरी घरमै बसेर समेत अत्यावश्यक भएकाहरुका लागि सहज रुपमा सवारी अनुमति प्रदान गर्नका लागि इ–पासको व्यवस्था गरिएको जिल्ला प्रशासन कार्यालय सल्यानले जनाएको छ । 


अनलाइन फारम पेश भइसकेपछि जिल्ला प्रशासनले पास वितरण मापदण्डको आधारमा पास दिने नदिने निर्णय गर्ने र सोको जानकारी सम्वन्धित व्यक्तिको मोवाइलको म्यासेज बक्समा जानकारी दिइने कार्यालयले जनाएको छ । फारम स्वीकृत भएपछि प्राप्त हुने कोडमा उल्लेखित नम्वर र व्यहोरा नै सवारी पास हुने प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले बताए । 


उनले प्रशासनले अति आवश्यक सवारी साधनका लागि मात्र पास स्वीकृत गर्ने भएकाले अनावश्यक रुपमा अनलाइन दरखास्त नदिइ लकडाउनलाई प्रभावकारी बनाउने कार्यमा सहयोग पु¥याउन समेत जिल्लावासीमा आग्रह गरेका छन् । 


एम्बुलेन्स, सञ्चारकर्मी,स्वास्थ्य सेवामा खटिएका चिकित्सक, नर्स, प्रयोगशालामा कार्यरत प्राविधिक तथा अस्पतालका कर्मचारीका  साधनहरुलाई अनुमति पत्र आवश्यक नपर्ने र सम्वन्धित संस्थाको परिचयपत्रका आधारमा सञ्चालन गर्न दिइएको प्रशासनले स्पष्ट पारेको छ । 


कुनै निकाय वा सङ्घ संस्थाको नाममा जारी भएको पास जारी गरेको उद्देश्य विपरित वा अन्य अनाधिकृत व्यक्तिले प्रयोग गरेको पाइएमा प्रचलित कानून बमोजिम कारवाही गरिने प्रशासनले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top