ट्रेण्डिङ

होमपेज / समाज

सल्यानका ४५ विद्यार्थी र ५ शिक्षकलाई पोशाक वितरण

  इन्द्र बुढाथोकी २०८३ असार १९ गते शुक्रबार २०:५७:३२ मा प्रकाशित

सल्यान, असार १९ । सल्यानको बनगाड कुपिण्डे नगरपालिका–३ फुर्केसल्लीस्थित श्री सरस्वती आधारभूत विद्यालयका विद्यार्थी तथा शिक्षकलाई विद्यालय पोशाक (ट्र्याकसुट) वितरण गरिएको छ। अमेरिकामा रहेका समाजसेवी जनकराज रानाको आर्थिक सहयोगमा विद्यालयका ४५ जना विद्यार्थी र ५ जना शिक्षकलाई ट्र्याकसुट हस्तान्तरण गरिएको हो।

विद्यालय परिसरमा आयोजित कार्यक्रममा बनगाड कुपिण्डे नगरपालिका–२ बेतेनी स्थायी घर भई हाल अमेरिकामा बसोबास गर्दै आउनुभएका जनकराज रानाको सहयोग तथा उहाँका भाइ धुर्वराज रानाको सक्रिय समन्वयमा पोशाक वितरण गरिएको थियो।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, शिक्षक अभिभावक संघका अध्यक्ष, शिक्षक, अभिभावक, विद्यार्थी तथा स्थानीय बुद्धिजीवीहरूको सहभागिता रहेको थियो। सहभागीहरूले शिक्षामा सहयोग पुर्‍याउने उद्देश्यले गरिएको यस मानवीय कार्यको प्रशंसा गर्दै यस्ता सहयोगले विपन्न तथा ग्रामीण क्षेत्रका विद्यार्थीमा थप उत्साह र आत्मविश्वास बढ्ने विश्वास व्यक्त गरेका थिए।

सहयोगी जनकराज रानाले विदेशमा रहे पनि आफ्नो जन्मथलो र स्थानीय समुदायप्रतिको दायित्वलाई कहिल्यै नभुल्ने बताउँदै शिक्षा क्षेत्रमा सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभएको सन्देश कार्यक्रममा सुनाइएको थियो। उहाँका अनुसार आर्थिक अवस्था कमजोर भएका परिवारका बालबालिकालाई विद्यालयमा नियमित रूपमा अध्ययन गर्न प्रेरित गर्ने उद्देश्यले पोशाक वितरण गरिएको हो।

कार्यक्रममा बोल्ने वक्ताहरूले विद्यालय पोशाकले विद्यार्थीमा समानताको भावना विकास गर्नुका साथै नियमित विद्यालय उपस्थितिमा समेत सकारात्मक प्रभाव पार्ने धारणा राखेका थिए। उनीहरूले शिक्षा क्षेत्रमा सरकारसँगै समाजसेवी, दातृ संस्था तथा विदेशमा रहेका नेपालीहरूको योगदान महत्वपूर्ण रहेको उल्लेख गरे।

जनकराज रानाले यसअघि पनि बनगाड कुपिण्डे नगरपालिकाका ६ वटा आधारभूत विद्यालयका विद्यार्थीलाई विद्यालय पोशाक वितरण गरिसक्नुभएको छ। शिक्षा, सामाजिक सेवा तथा मानवीय सहयोगका विभिन्न अभियानमा उहाँले निरन्तर योगदान दिँदै आउनुभएको स्थानीयवासीले बताएका छन्।

विद्यालय परिवारले सहयोगी जनकराज राना र कार्यक्रमको समन्वयमा सक्रिय भूमिका निर्वाह गर्ने धुर्वराज रानाप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै सहयोगले ग्रामीण क्षेत्रको शैक्षिक विकासमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरेको छ। विद्यालयका शिक्षकहरूले यस्ता सहयोगले विद्यार्थीमा अध्ययनप्रतिको उत्साह बढ्नुका साथै अभिभावकलाई समेत सकारात्मक सन्देश प्रवाह हुने बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

Top