होमपेज / समाज
असोज २४, सल्यान ।
तेस्रो साना सहरी खानेपानी तथा सरसफाइ आयोजना अन्तर्गत सञ्चालित खलङ्गा सितलपाटी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था, शारदा नगरपालिका–२, लुहापिङ, खलङ्गाको नवौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।
शारदा नगरपालिकाका उपप्रमुख सुस्मिता सापकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा उपभोक्ता समितिका पदाधिकारी, स्थानीय सरोकारवाला, नगर प्रतिनिधि तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै उपप्रमुख सुस्मिता सापकोटाले घर–घरमा खानेपानी पुगेपछि स्थानीयवासीको दैनिकी सहज बनेको बताइन्। सरसफाइमा समेत उल्लेखनीय सुधार आएको उल्लेख गर्दै उनले खानेपानीको पहुँच पुर्याउनु चुनौतीपूर्ण कार्य भएको बताइन्। यस कार्यमा स्थानीय सरकारबाट आवश्यक सहयोग पुर्याइने प्रतिबद्धता समेत जनाएकी छन् ।
संस्थाका अध्यक्ष केशव बुढाथोकीले साधारण सभामा संस्थाको प्रगति विवरण प्रस्तुत गर्दै तेस्रो साना सहरी खानेपानी तथा सरसफाइ कार्यान्वयन आयोजना अन्तर्गत २ हजार ३ सय ५८ घरमा धारा जडान भई करिब १२ हजार जनसङ्ख्यालाई स्वच्छ, सुरक्षित र गुणस्तरीय खानेपानी उपलब्ध गराइएको जानकारी दिए। उनका अनुसार उपभोक्ताको चेतना वृद्धि सँगै "एक घर, एक धारा" अवधारणालाई कार्यान्वयनमा ल्याउँदै करिब ६ वटा वडामा सेवा विस्तार गरिएको छ। सोही अवसरमा नेपाल पत्रकार महासङ्घ सल्यानका अध्यक्ष डिल्लीराज रावतले विगतमा खानेपानीको अभावका कारण स्थानीय बासिन्दाले अनेकौँ समस्या भोग्नु परेको र बसाइसराइको समेत हुने गरेको बताए। अहिले पानी सहज रूपमा उपलब्ध भएसँगै जनजीवनमा उल्लेखनीय सुधार आएको उनले भनाइ छ । कार्यक्रममा नेकपा माओवादी केन्द्र शारदा नगर कमिटी अध्यक्ष मोहनलाल बुढाथोकी, एकीकृत समाजवादी शारदा नगर कमिटी उपाध्यक्ष शान्ता नेपाली, राप्रपा नगर कमिटी सदस्य महेन्द्र गुरुङ, रास्वपा नगर अध्यक्ष प्रकाश नेपाली शारदा नगरपालिका ४ नं. वडा अध्यक्ष किशोर कुमार हमाल १२ नं. वडा अध्यक्ष सुरेन्द्र बुढा लगायतका व्यक्तिले पनि शुभकामना मन्तव्य राखेका थिए
। संस्थाका उपाध्यक्ष मौसमदास श्रेष्ठको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन संस्थाकी सहसचिव ईन्द्रा भण्डारीले गरेकी थिइन् । साधारण सभामा वार्षिक प्रगति प्रतिवेदनको समीक्षा, आगामी योजनाबारे छलफल तथा वित्तीय विवरण प्रस्तुत गरिएको थियो। संस्थाले चालु आर्थिक वर्षमा २ करोड ३३ लाख ८७ हजार रुपैयाँ खर्च गरेको जानकारी सभामा गराइएको थियो ।





.jpg)