होमपेज / समाज
चैत २,सल्यान
सल्यानका स्थानीय तहबाट श्रम स्वीकृति र पुनः स्वीकृति सम्बन्धी सेवा सुरु गरेका छन् । सरकारले २०७९ चैत १६ गते गरेको निर्णयबमोजिम सल्यानका स्थानीय तहबाट श्रम स्वीकृति दिने व्यवस्थालाई कार्यन्वयन गरेका हुन ।
दश स्थानीय तह रहेको सल्यानमा हालसम्म कुमाख, छत्रेश्वरी, कपुरकोट गाउँपालिका र शारदा नगरपालिकाले रोजगार शाखाबाट श्रम स्वीकृति लिने र पुनः स्वीकृतिका लागि अनलाई आवेदन गर्ने काम सुरु गरेको जनाएका छन् । यसका लागि अब काठमाडौँ धाउनुपर्ने झन्झटको अन्त्य भएको छ ।
कुमाख गाउँपालिकाका रोजगार संयोजक जीवन शर्माले पुनःश्रम स्वीकृति गरी ई स्टिकर प्रदान गर्नुे काम भइरहेको बताउनु भयो । अहिलेसम्म कुमाख गाउँपालिकाबाट तीन जना सेवाग्राहीले श्रम स्वीकृति लिइसकेको उहाँको भनाई छ । श्रम स्वीकृतिका लागि सम्बन्धित व्यक्तिले पासपोर्ट र भिसासम्बन्धी कागजात लिएर आउनुपर्ने हुन्छ । सम्बन्धित व्यक्तिले ल्याएको कागजातका आधारमा रोजगार केन्द्रले सोसम्बन्धी स्वीकृतिका लागि आवश्यक सहजीकरण गरिदिने शर्माले बताउनु भयो ।
सम्बन्धित व्यक्तिले सो स्वीकृति लिनुपूर्व सामाजिक सुरक्षा कोष, कल्याणकारी कोष र बिमाका लागि तिर्नुपर्ने हुन्छ । मोबाइल बैंकिङमार्फत रकम तिर्न सकिन्छ । कल्याणकारी कोषका लागि रु एक हजार पाँच सय, सामाजिक सुरक्षा कोषका लागि न्यूनतम रु दुई हजार र बिमाका लागि उमेरअनुसारको शुल्क तिर्नुपर्ने हुन्छ । उक्त सबै काम भए पछि अनलाइनमार्फत श्रम स्वीकृति प्राप्त हुने शर्माको भनाई छ ।
आफ्नै गाउँघरबाट छिटो छरितो सेवा प्राप्त भएको कुमाख गाउँपालिका ४ हरि बहादुर विष्टले बताउनु भयो । वैदेशिक रोजगारीका शिलशिलामा विदेशगई विदामा घर फर्किएको र पुनः रोजगारीमा जानका लागि गाउँपालिकाबाट नै श्रम स्वीकृति लिएको उहाँले बताउनु भयो । श्रम स्वीकृति लिनकै लागि सुर्खे वा काठमाण्डौ जानु पर्ने बाध्यताको अन्त्य भएको विष्टको भनाई छ ।
यस अघि श्रम स्वीकृतिको काम गर्न काठमाडौं जानुपर्ने बाध्यता हुँदा खर्च धेरै लाग्ने गरेको भन्दै बिष्टले आफ्नो गाउँमै रहेको सेवा केन्द्र बाट श्रम स्वीकृति गरि इ( स्टिकर पाउँदा आफ्नो समय र पैसा बचत भएको बताउनु भएको थियो ।
वैदेशिक रोजगार ऐन, २०६४ तथा वैदेशिक रोजगार नियमावली, २०६४ मा भएको व्यवस्था अनुसार वैदेशिक रोजगारीमा जाने हरेक नेपाली नागरिकले अनिवार्य रुपमा श्रम स्वीकृति लिनुपर्ने व्यवस्था छ । वैदेशिक रोजगारीलाई थप व्यवस्थित, सुरक्षित, मर्यादित, भरपर्दो तथा सहज बनाउन भन्दै २०८० वैशाख १ गतेदेखि वैदेशिक रोजगारीमा जानेहरुका लागि व्यक्तिगत श्रम स्वीकृति र पुनः श्रम स्वीकृति को लागि आवेदन पेश गर्ने कार्य स्थानीय तहको रोजगार सेवा केन्द्रबाट गराउन गत चैत १६ गतेको नेपाल सरकार प्रधानमन्त्री तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री स्तरीय निर्णय भएको थियो ।





.jpg)