होमपेज / समाज
फागुन २४,सल्यान
सल्यानको त्रिवेणी गाउँपालिकामा सुनौलो हजार दिनका आमाहरुलाई कुखुरा वितरण गरिएको छ । गर्भवती भएदेखि दुई महिनासम्मका बालबालिका रहेका घरधुरीलाई आमा र बच्चाको पोषण अवस्थामा सुधार ल्याउने उद्देश्यले कुखुरा,तरकारीको बिउ वितरण गरिएको हो ।
बिहिबार त्रिवेणी गाउँपालिका वडा न १,२,५ र ६ का ५८९ जना आमालाई दुई हजार दुई सय न्यु हेम्पसाएर, ब्ल्याक अस्ट्रोलोप जातका कुखुरा, दाना, औषधी, उन्नत जातको तरकारीको विउ र सिचाई गर्ने हजारी वितरण गरिएको पशु सेवा शाखा प्रमुख वसन्त रावतले जानकारी दिनु भयो । उहाँका अनुसार वडा न १ का १९३, वडा न २ का ९८, वडा न ५ का १३३ र वडा न ६ का १६५ गरी ५८९ आमालाई कुखुरा वितरण गरिएको हो ।
बहुक्षत्रिय पोषण कार्यक्रम अन्तर्गत पालिकाका ४ वडाका सुनौलो हजार दिनका आमा र बच्चाको स्वास्थ्यमा सुधार ल्याउने यसको मुख्य उद्देश्य रहेको रावतले बताउनु भयो ।
गर्भ रहेको र सुत्केरी भएको अवस्थामा पोषिलो खानेकुराको आवश्यकता बढी पर्ने त्रिवेणी गाउँपालिका अध्यक्ष खिम बहादुर रावतले बताउनु भयो । त्यस अवस्थामा पोषणयुक्त खानेकुरा नपाए आमा र बच्चा दुवैलाई कुपोषण हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै कुखुरा वितरण गरिएको उहाँको भनाई छ ।
अण्डामा धेरै पोषकतत्व हुने भएकाले गर्भवती र सुत्केरी आमा तथा बालबालिकाहरुलाई पोषणयुक्त खानेकुरामा ध्यान दिन सकुन भनेर कुखुरा र तरकारीको विउ वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत खुम बहादुर केसीले बताउनु भयो । खास गरेर आमा र बच्चा दुवैमा कुनै किसिमको कुपोषण देखा नपरोस् भन्ने गाउँपालिकाको लक्ष्य रहेको उहाँको भनाई छ ।





.jpg)