ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा निर्माणाधीन रिटेनिङ वाल अलपत्र छोडेर ठेकेदार बेपत्ता

  सल्यान खबर डेस्क २०८० फाल्गुण २३ गते बुधबार १७:०४:४१ मा प्रकाशित

फागुन २३,सल्यान । सल्यानको लुहाम –काभ्रा –कालीमाटी रामपुर सडक खण्डको गौरेज्युलामा निर्माणाधीन रिटेनिङ वाल ठेकेदारका लापरवाहीका कारण एक वर्षदेखि अलपत्र रहेको छ ।

त्रिवेणी गाउँपालिका– ३ को गौरेज्युलामा तीन बर्षअघि अविरल बर्षातपछि शारदा नदीले कटान गर्दा सडक पुर्णरुपमा भत्किएको थियो । पर्खा निर्माणको लागि सिस्ने कन्स्ट्रक्सन काठमाडौँले २०७८ साल चैत महिनामा पूर्वाधार विकास कार्यालय सल्यानसँग १ करोड ८२ लाखमा ठेक्का सम्झौता गरी काम सुरु गरेको थियो ।

पर्खाल निर्माणको काम २०८० साल जेठ ३० गते सक्नेगरी ठेक्का सम्झौता भए पनि एक वर्षदेखि निर्माणको काम अगाडी बढ्न नसकेको त्रिवेणी गाउँपालिकाका अध्यक्ष खिम बहादुर रावतले बताउनुभयो । 

उहाँका अनुसार पर्खाल निर्माणको काम अहिलेसम्म १० प्रतिशत मात्र सम्पन्न भएको छ । काम अलपत्र छोडेर ठेकेदार एक वर्षदेखि सम्पर्क विहीन भएको र बारम्बार सम्बन्धित निकायलाई जानकारी गराउँदा पनि काम अगाडी बढ्न नसकेको अध्यक्ष रावतले बताउनुभयो ।

सडक बगाएपछि वैकल्पिक सडकका रुपमा स्थानीयको जग्गा प्रयोग गरेर बाटो सञ्चालन भइरहेको छ । ठेकेदारले समयमै काम सम्पन्न गर्न नसक्दा बर्षाले स्थानीयको घर बग्ने समेत जोखिम रहेको स्थानीय हुकुम महतराले बताउनुभयो । 

“सडक बगाएको झन्डै तीन बर्ष भयो, पर्खाल उठाउने काम सुरु पनि भयो, तर ठेकदारले बिचैमा अलपत्र छोडेर गयो, फेरि वर्षा लाग्न थालिसक्यो, फेरि बस्ती नै जोखिममा परेको छ ।”, उहाँले भन्नुभयो । 

पूर्वाधार विकास कार्यालय सल्यानका कार्यालय प्रमुख हरि बहादुर ओलीले कामको जिम्मा लिएको ठेकेदारले अन्य सहायक ठेकेदारलाई काम दिँदा पनि समयमै काम हुन नसकेको बताउनुभयो । 

सहायक ठेकेदारले पनि बिचैमा काम छोडिदिँदा  पर्खाल निर्माणको काम अलपत्र परेको बताउनुभयो । काम सुरु गर्नको लागि ठेकेदारलाई सम्पर्कमा ल्याउने प्रयास गरिरहेको उहाँले बताउनुभयो ।

अविरल बर्षाले आएको शारदा नदीको कटानले १ हजार ३ सय मिटर जग्गा बगाएको छ भने बस्ती नै जोखिममा परेको छ । 

स्थानीयले अब पनि समयमै काम नभए फेरि बाटो बन्द गर्ने चेतावनी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top