होमपेज / समाज
१८,सल्यान
उत्पादन दिन छाडेपछि घरमा पालिएका गाई छाडा छोडिन्छ । जसका कारण छाडा पशु चौपाया व्यवस्थापनमा स्थानीय तहलाई सकस हुँदै आइरहेको छ । पशुपालन तर्फ किसानको आकर्षण घट्दै जाँदा सार्वजनिक स्थल तथा सडकमा पशु चौपाया यत्रतत्र हिडि रहेका छन् । जसले दुर्घटनाको जोखिमलाई समेत निम्त्याएको छ ।
छाडा पशु चौपायाको व्यवस्थापन गर्दै आइरहेको छत्रेश्वरी गाउँपालिकाले छाडा पशु चौपाया व्यवस्थापनका लागि भवन निर्माणको थालनी गरेको छ । गाउँपालिकाको वडा नम्बर ६ भोटेचौर स्थित भुवनेश्वरी सामुदायिक वन नजिकमा रहेको गौशालामा भवन निर्माण हुन लागेको हो । शुक्रवार छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोकीले भवनको शिलान्यास गरेका हुन् । सो अवसरमा उनले गाई संरक्षण तथा व्यवस्थित रुपमा गौशाला सञ्चालनका लागि गाउँपालिकाले सक्दो सहयोग गरिरहेको बताए । विगतमा छाडा गाईका कारण विभिन्न समस्या हुनेगरेकोमा स्थानीयहरूकै सक्रियतामा गौशाला सञ्चालन भएपछि किसानको खेतबारीमा पसेर बालीनाली, फलफूल र तरकारी खेतीमा हुने नोक्सानीको समस्या हल हुँदै गएको अध्यक्ष बुढाथोकीको भनाई छ ।
उत्पादन दिन छाडेपछि घरमा पालेको गाईलाई सार्वजनिक रूपमै छाड्ने गर्दा त्यसका कारण विभिन्न समस्या आउने गरेकोमा छत्रेश्वरी गाउँपालिकाले गाई संरक्षणमा ध्यान दिएको हो । गाउँपालिकाले भोटेचौर सँगै वडा नम्बर ३ को बडाचौरमा पनि छाडा गाई व्यवस्थापनको काम गरिरहेको जनाएको छ ।
छत्रेश्वरी ६ का वडा अध्यक्ष टिकाराम बुढाले हिन्दु वैदिक सनातन धर्ममा गाईको महत्त्व धेरै रहेको उल्लेख गर्दै गौ रक्षाका लागि पनि भोटेचौरको गौशालालाई उदाहरणीय रुपमा सञ्चालन गर्नुपर्नेमा जोड दिए । विगतमा लान्ती देखी शंखमुल क्षेत्रमा छाडा गाईका कारण किसानहरूलाई आफ्नो बाली जोगाउन चुनौती र दिनरात गोठालो बस्नुपर्ने बाध्यतालाई मध्यनजर गरेर गौशाला व्यवस्थापन गरिएको उनको भनाई छ ।
पशु सेवा कार्यालय सल्यानको ५ लाख, छत्रेश्वरी गाउँपालिकाको ३ लाख २५ हजार र स्थानीय उपभोक्ताहरूको १ लाख ७५ हजार गरेर १० लाख रुपैयाँ लागतमा भोटे चौरमा गौशाला निर्माण सुरु गरिएको भोटेचौर गाई व्यवस्थापन समितिका अध्यक्ष रेशम बहादुर खड्काले जानकारी दिए । गत वर्ष गाउँपालिकाले नै गाई बस्ने गोठ निर्माण गरिदिएको भन्दै उनले जनशक्ति व्यवस्थापनका लागि पनि सहयोग गरिरहेको बताए । गौशालामा खटिने हेरालुलाई बस्नको लागि समस्या भएपछि त्रिपक्षीय सम्झौता अनुसार गौशाला निर्माणको काम सुरु गरिएको खड्काको भनाई छ । गौशालामा अहिले गाईको सङ्ख्या ३० रहेको समितिले जनाएको छ ।





.jpg)