होमपेज / समाज
फागुन १६,सल्यान
सवारी दुर्घटना न्यूनीकरणका लागि सचेतना दिन सडकमै जिल्ला प्रहरी कार्यालय सल्यानले चालक तथा सहचालकको स्वास्थ्य परीक्षण अभियान सुरु गरेको छ । यात्रुसँग दुई मिनेट अभियान अन्तर्गत प्रहरीले राप्ती राजमार्ग र छिन्चु जाजरकोट सडक खण्डमा गुड्ने सवारी साधनका चालक तथा सहचालकहरूको स्वास्थ्य परीक्षण गरेको हो ।
सडकमा निःशुल्क गरिएको स्वास्थ्य शिविरमा सुगर, ब्लड प्रेसर र आँखा चेकजाँच गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । स्वास्थ्य परीक्षण गर्दा अधिकांश चालकहरूमा सुगर र प्रेसर धेरै भएको पाइएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख नवीन कार्कीले जानकारी दिनु भयो । सल्यानमा हुने सवारी दुर्घटना रोक्न विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आइरहेको बताउँदै चालकको स्वास्थ्यका कारण पनि दुर्घटना हुने गरेको पाइएकाले यात्रुसँग दुई मिनेट कार्यक्रम अन्तर्गत चालकको स्वास्थ्य परीक्षणका साथै यात्रुहरूलाई सचेतनामूलक सन्देश प्रवाह गर्ने कार्य भइरहेको बताउनु भयो । उहाँले भन्नु भयो ‘तीन ठाउँमा गरिएको कार्यक्रममा अधिकांश चालकहरूमा सुगरको मात्रा धेरै, प्रेसर हाइ भएको पाइयो जसले गर्दा दुर्घटनाको जोखिम त्यतिकै हुन्छ । ती चालकहरूलाई केही समय रेष्ट गरेर मात्र पठाउने गरेका छौँ ।’
दुर्घटना न्यूनीकरणका उपायमध्ये चालकको स्वास्थ्य परीक्षण पनि एक भएका कारण स्वास्थ्य परीक्षण सुरु गरेको प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मीको भनाई छ । उहाँले भन्नु भयो ‘चालकको सामान्य त्रुटिबाट पनि ठुलो जनधनको क्षति हुनसक्छ, हरेक दिन जसो हुने दुर्घटना न्यूनीकरण गरी जनधनको क्षति कम गर्न अभियान सञ्चालन गरिएको छ ।’





.jpg)