होमपेज / समाज
सन्तोष घर्ती फागुन,१५ सल्यान
सल्यानको कपुरकोट गाउँपालिकामा विपद्को समयमा खोज तथा उद्धार गर्ने जनशक्ति तयार गर्ने उद्देश्यले विपद् व्यवस्थापन सम्बन्धी तालिम सुरु गरिएको छ । विपद् व्यवस्थापन लगायतका विषयमा गाउँपालिका भित्र रहेका कार्यालय तथा विद्यालयहरूमा कार्यरत सहयोगीहरूलाई प्रथम उद्धारकर्ता तयार गर्ने उद्देश्यले तीन दिने सामुदायिक खोज,उद्धार तथा आपत्कालीन तालिम सुरु गरिएको हो ।
गाउँपालिकाको आयोजना तथा सिद्धि बक्स गण सल्यानको प्राविधिक सहयोगमा सुरु भएको तालिममा विपद् व्यवस्थापन, भूकम्पीय प्रतिकार्य, बाढी तथा पहिरो प्रतिकार्य, आगलागीको प्रतिकार्य, खोज तथा उद्धारका विधि, महामारी,प्राथमिक उपचार,चट्याङ,विद्युतीय झड्का लगायतका विषयमा सैद्धान्तिक र प्रयोगात्मक अभ्यास गराइने प्रमुख प्रशासकीय अधिकृत भरत कुमार वलीले जानकारी दिनु भएको छ ।
तालिमको सुरुवात गर्दै कपुरकोट गाउँपालिका उपाध्यक्ष प्रकाश भण्डारीले विपद् जोखिम तथा दुर्घटना न्यूनीकरणका लागि पालिका स्तरमा दक्ष जनशक्ति बनाउन तालिम दिइएको बताउनु भयो । उहाँले गाउँपालिका भित्र रहेका कार्यालय तथा विद्यालयको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर कार्यालय सहयोगीहरूको लागि तालिम सञ्चालन गरिएको बताउनु भयो । तालिमले विपद्को जोखिम न्यूनीकरणमा सहयोग पुग्ने भण्डारीको भनाई छ ।
तालिमको प्रमुख प्रशिक्षकमा सिद्धि बक्स गण सल्यानका सेनानी सुरोज कुमार ओझा र उप सेनानी सुदर्शन ढुङ्गाना रहेको गाउँपालिकाले जनाएको छ ।





.jpg)