ट्रेण्डिङ

होमपेज / समाज

सल्यानको छत्रेश्वरी ५ सिरुवालीमा पहिलो पटक बस पुग्यो

  सल्यान खबर डेस्क २०८० माघ २५ गते बिहीबार १८:३०:०८ मा प्रकाशित

सल्यान, २५ माघ ।

सल्यानको मुख्य व्यापारिक केन्द्र श्रीनगर देखि छत्रेश्वरी गाउँपालिकाको सिरुवाली सुटेखला सम्म सिधा बस सञ्चालन भएको छ । छत्रेश्वरी गाउँपालिकाले वडा नम्बर ५ को ढुङ्गे पानीदेखि सिरुवाली अमिला बोट सम्म मोटर बाटो निर्माण गरेपछि गाउँमा पहिलो पटक बस पुगेको गाउँपालिकाका प्रवक्ता फौद बहादुर बस्नेतले जानकारी दिए । सिरुवाली सुटेखला सम्म मोटर बाटो निर्माणका लागि गाउँपालिकाले चार लाख ८० हजार रुपैयाँ लगानी गरेको थियो । 

बिहीबार बिहान मोटर बाटो उद्घाटन गर्दै छत्रेश्वरी गाउँपालिका अध्यक्ष ओज बहादुर बुढाथोकीले सडक सञ्जालले विकासका अन्य ढोका खोल्ने भन्दै सडकको उपयोग, मर्मत सम्भारमा पनि स्थानिय उपभोक्ताले ध्यान दिनुपर्ने बताए । गाउँपालिका उपाध्यक्ष बुद्ध कुमारी खत्रीले गाउँमा सडक तथा यातायातको पहुँच भयो भने धेरै कुरामा राहत  र अवसर सृजना हुने धारणा व्यक्त गरिन । 

यस मोटर बाटो निर्माण सँगै  एक सय बढी घरधुरीले प्रत्यक्ष लाभ प्राप्त गरेका छन् । ढुङ्गे पानीदेखि सिरुवाली सम्म करिब एक हजार पाँच सय मिटर नयाँ मोटर बाटो निर्माण भएको गाउँपालिकाका प्रवक्ता बस्नेतले जानकारी दिए । मोटर बाटो उद्घाटन अवसरमा गाउँमा पहिलो पटक बस पुगेपछि स्थानीयहरू हर्षित भएका छन् । उनीहरूले बसका चालकलाई पैसाको माला सँगै टीका अविरले स्वागत गरेका थिए ।  

सल्यान रुकुम यातायात प्रालिकाे ना ७ ख ६०६५ नम्बरको बस पहिलो पटक पुगेको हो । आफ्नो प्रती जग्गा उपलब्ध गराएर मोटर बाटो बनाउन दिने स्थानीयहरूलाई सो अवसरमा ५ नम्बर वडा कार्यालयको तर्फबाट सम्मान गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top