ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा पाँच जिल्लाका कृषकहरुलाई बारीमै प्रयोगात्मक तालिम

  सल्यान खबर डेस्क २०८० माघ २४ गते बुधबार २१:२९:३६ मा प्रकाशित

माघ २४,सल्यान 
कर्णाली प्रदेशका पाँच जिल्लाका किसानहरुलाई सुन्तलाजात ह्रास रोग व्यवस्थापन तथा खेती प्रविधि सम्बन्धी तालिम सल्यानमा सम्पन्न भएको छ । किसानको सुन्तला बगैचामा पुगेर सुन्तलाजात ह्रास (सिट्रस डिक्लाइन) व्यवस्थापन सम्बन्धी सल्यानको बागचौर नगरपालिका ३ खालीमा सम्पन्न भएको हो । 

तालिममा सल्यानका १३, रुकुम पश्चिमका ४, जाजरकोटका ४, दैलेखका ४ र सुर्खेतका १ गरी २६ किसानको सहभागिता रहेको थियो । कृषकहरुलाई बोटविरुवाको काँटछाट, शुक्ष्म खाद्यतत्वको प्रयोग, रोग किराको आक्रमणबाट बचाउन बोडिक्स फिक्चर र पेस्टको प्रयोग, गोडमेल, सिचाइ लगायतका व्यवस्थापकीय सिपहरुको बारेमा जानकारी पाएको किसानहरुले बताएका छन् । किसानहरुले गुणस्तरीय बिउ, विरुवा उपलब्ध गराउन, पिसिआर जाँचको व्यवस्था गरी दिन किसानहरुले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयलाई आग्रह गरेका छन् । 

एक हप्तासम्म चलेको तालिमको समापन कार्यक्रममा बोल्दै भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भीम प्रकाश शर्माले होटेलहरुमा तालिम सञ्चालन गर्नु भन्दा किसानहरुकै खेतबारी तालिम गर्दा उक्त तालिम बढी प्रभावकारी हुने बताउनु भयो । उहाँले ह्रास रोगको व्यवस्थापन गर्न रोगमुक्त प्रमाणित विरुवा रोपण गर्न, जाली घरभित्र विरुवा उत्पादन गर्न, रोग संक्रमित विरुवा वा विरुवाजन्य सामाग्रीको ओसारपसारमा बन्देज गर्न सुझाव दिनु भयो । मन्त्री शर्माले बागचौर नगरपालिका ८ र ९ कोटमौलामा बगैचा व्यवस्थापन सुधार सम्बन्धी सुन्तलाजात बालीमा कृषक पाठशाला सञ्चालन गरी रहेको र उक्त पाठशाला एक वर्षसम्म सञ्चालन हुने बताउनु भयो । यसबाट बगैचा सुधार हुने विश्वास लिएको र आगामी वर्षमा अभियानकै रुपमा लिइने बताउनु भयो । 

यस्तै मन्त्रालयका सचिव डा. नरहरि प्रसाद घिमिरेले आफूहरुले सिकेको ज्ञान सिपलाई आफूमा सिमित गर्नु भन्दा अन्य किसानहरुलाई पनि सिकाउन आग्रह गर्नु भयो । विरुवाको गुणस्तरमा ध्यान दिएर मात्र रोप्न आग्रह गर्नु भयो । 

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कृषि तथा पशुपन्छी व्यवसाय प्रवद्र्धन प्रशिक्षण केन्द्र सुर्खेतको आयोजनामा माघ १८ गतेदेखि २४ गतेसम्म सञ्चालन भएको थियो । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top