होमपेज / समाज
सन्तोष घर्ती माघ,१६ सल्यान
सल्यानको कपुरकोट गाउँपालिकाले व्यावसायिकरुपमा खेती गर्ने उत्कृष्ट कृषक र पशुपालन गर्ने किसानलाई सम्मान गरेको छ । गाउँपालिकाको १४ औँ गाउँ सभाको उद्घाटनका अवसरमा व्यावसायिक खेती र पशुपालन गर्ने किसानलाई सम्मान गरिएको हो ।
गाउँपालिकाको सामाजिक विकास समितिको सिफारिसमा बेमौसमी तरकारी खेती गर्ने,पशुपालन गर्ने,फलफूल खेती गर्ने तथा मौरी पालन गर्ने पालिका स्तरका १० जना किसानलाई नगद ५ हजार र ६ वटै वडा स्तरमा १८ जना किसानलाई नगद ३ हजार सहित सम्मान गरिएको प्रमुख प्रशासकीय अधिकृत भरत कुमार वलीले जानकारी दिनु भयो ।
यस्तै गाउँपालिकालाई आर्थिक वर्ष २०७९।०८० मा कार्य सम्पादनका आधारमा स्थानीय तहहरूको संस्थागत क्षमता स्वमूल्याङ्कन र स्थानीय तह बितिए सुशासन जोखिम मूल्याङ्कनमा कर्णाली प्रदेशमा प्रथम र नेपालमा दोस्रो बनाउन भूमिका खेलेको भन्दै प्रमुख प्रशासकीय अधिकृत भरत कुमार वलीलाई सम्मान गरिएको छ ।
गाउँपालिकाको समग्र विकास निर्माण तथा सेवा प्रवाहमा अब्बल भूमिका निर्वाह गर्ने कर्मचारीहरूलाई पनि सम्मान गरिएको छ । १४ औँ गाउँ सभाका अवसरमा योजना तथा प्रशासन शाखा प्रमुख खगेन्द्र बहादुर शाही,आर्थिक प्रशासन शाखा प्रमुख विष्णु प्रसाद आचार्य लगायत अन्य १५ जना कर्मचारी र स्वास्थ्य स्वयमसेबिकालाई सम्मान गरिएको गाउँपालिका उपाध्यक्ष प्रकाश भण्डारीले जानकारी दिनु भयो ।
गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुनको अध्यक्षतामा भएको गाउँ सभाको उद्घाटन कार्यक्रममा कपुरकोट गाउँपालिका कार्य सम्पादनमा जिल्ला,प्रदेशमा प्रथम र नेपालमा दोस्रो भएको भन्दै कार्यक्रमका प्रमुख अतिथि तथा जिल्ला समन्वय समिति सल्यानका प्रमुख बेलाराम रावल र विशिष्ट अतिथि उप प्रमुख असबीर बुढाथोकीले औपचारिक रुममा बधाई दिँदै प्रमाण पत्र हस्तान्तरण गर्नु भएको थियो ।
न्यायिक इकाईका प्रमुख जीवराज केसीले सहजिकरण गरेको कार्यक्रममा बोल्दै पूर्व वडा अध्यक्षहरू हरिलाल पुन,यम कुमार बस्नेत र हेरम बहादुर बुढाथोकीले आफूले थालनी गरेका कार्य तर अपुरा रहेका योजनाहरूलाई पूर्णता दिन सुझाव दिनु भएको थियो ।
यस्तै कार्यक्रममा राप्रपाका भीम बहादुर बुढा,एकीकृत समाजवादीका कपुरकोट सचिव तिलक शर्मा,माओवादी केन्द्र कपुरकोटका सचिव पवन कार्की,नेकपा एमाले कपुरकोटका अध्यक्ष द्रोण केसी र नेपाली काँग्रेसका पूर्व क्षेत्रीय सभापति दुर्गा बहादुर गिरीले गाउँपालिकाबाट हुने हरेक विकास निर्माणका काममा राजनीतिक सहकार्य गरेर योजना कार्यान्वयन गर्न अनुरोध गर्नु भएको थियो । मङ्गलवारबाट सुरु भएको गाउँ सभा बिभिन्न कार्यविधि,ऐन तथा योजनाहरू संशोधन सहित गाउँ सभाबाट पारित गदै भोली सकिने गाउँपालिकाले जनाएको छ ।





.jpg)