ट्रेण्डिङ

होमपेज / समाज

सल्यान कालिमाटीका भुमिहिन र अव्यवस्थित बसोबासीको जग्गा नापजाँच सुरु

  सल्यान खबर डेस्क २०८० माघ ४ गते बिहीबार १७:०१:१९ मा प्रकाशित

 माघ ४,सल्यान 
भुमिहिन दलित सुकुम्बासी, भुमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाइ जग्गा धनी पुर्जा वितरणका लागि सल्यानको कालिमाटी गाउँपालिकामा जग्गा नापजाँच सुरु भएको छ  । 

भूमिहीन दलित र सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासलाई व्यवस्थापन गर्ने प्रयोजनका लागि कालिमाटी गाउँपालिका २ को चिसातराबाट जग्गा नापजाँच कार्यको भएको हो । 

जग्गा नापजाँचका लागि सम्बन्धित व्यक्तिको नागरिकता, उपलब्ध अन्य प्रमाण र निवेदन दर्ताको निस्सासहित उपस्थित भई आफूले भोग गरेको जग्गाको साँध सिमाना देखाई नापी गराउन वडावासीलाई आग्रह गरिएको छ । आगामी चैत्र महीना सम्ममा पहिलो चरणको जग्गाधनी पुर्जा वितरण गर्ने लक्ष्य सहित राष्ट्रिय भुमी आयोग संगको समन्वयमा सम्झौता अनुसार काम अगाडी बढाइएको गाउँपालिकाका अध्यक्ष दान बहादुर केसीले जानकारी दिनु भयो  । 

उहाँका अनुसार गाउँपालिकामा २ हजार ७ सय १७ जना भुमिहिन तथा अव्यवस्थित बसोबासीले निवेदन दर्ता गरि कम्प्युटरमा प्रविस्ट गर्ने काम सम्पन्न भइसकेको छ । पहिलो चरणमा कालिमाटी २ मा ४४१ जनाको जग्गा नापजाँच हुदैछ । यसपछी क्रमशः वडा नम्बर ३,४,५,१,६ र ७ मा नाप नक्साको कार्य गरिने अध्यक्ष केसीले बताउनु भयो । अव वर्षौँ देखिको जग्गा सम्बन्धी समस्या समाधान हुने विश्वास गर्दै उनले वडा स्तर र पालिका स्तरको सहजिकरण समितिले पहिलो चरणका सबै काम सम्पन्न गरिसकेको उहाँको भनाई छ । 

भूमि आयोगसँगको सहकार्यमा नापनक्साको कार्य अगाडि बढाएको र चाँडै भूमि सम्बन्धी समस्यामा परेका सबै नागरिकको जग्गाधनी पुर्जाको लागि प्रकृया सुरु हुने गाउँपालिकाले जनाएको छ । वर्षौंदेखि बस्दै आएको जग्गाजमिनको लालपुर्जा नहुँदा सुकुम्बासी जीवन बिताउनुपरेको स्थानीयहरुको गुनासो छ । बारम्बार लगत संकलन गरेर लैजाने गरिए पनि काम नभएको जनाउदै स्थानीयहरुले अव भने भुमी आयोग र गाउँपालिकाको सक्रियता तथा नाप नक्साको कामले जग्गाको लापूर्जा पाउने आशा पलाएको बताएका छन् ।
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top