ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा भूकम्प सुरक्षा दिवस मनाइयो 

  सल्यान खबर डेस्क २०८० माघ २ गते मंगलबार २१:१९:१६ मा प्रकाशित

माघ २,सल्यान 

सल्यानमा विभिन्न कार्यक्रम गरी २६ औँ भूकम्प सुरक्षा दिवस मनाइएको छ । स्थानीय स्रोत र प्रविधिको प्रयोग गरौँ , भूकम्प थेग्ने संरचना बनाऔँ भन्ने मूल नाराका साथ भूकम्प प्रभावित सल्यानको दार्मा गाउँपालिकामा मनाइएको हो । 

जिल्ला विपद् व्यवस्थापन समिति सल्यानको आयोजना तथा स्थानीय विपद् व्यवस्थापन समिति दार्मा गाउँपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सल्यानको सह आयोजनामा र्‍याली सहित कार्यक्रम गरिएको छ । कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति सल्यानका प्रमुख बेलाराम रावलले विगतका भूकम्पबाट बाट सिकेर अघि बढ्नुपर्ने बताउनुभयो ।

यस्तै जिल्ला समन्वय समिति सल्यानका उपप्रमुख असविर बुढाथोकीले अहिलेको आवश्यकता भनेकै भूकम्प पछिको पुनर्निर्माण र पुनर्स्थापना भएको बताउनुभयो । दार्मा गाउँपालिका अध्यक्ष निम बहादुर केसीले भूकम्प गए लगत्तै आफूहरू भूकम्प प्रभावित क्षेत्रमा खटिएको अस्थायी आवास निर्माणका लागि सरकारले प्रदान गर्ने रकम छिटोभन्दा छिटो उपलब्ध गराउने गरी पहल भइरहेको बताउनुभयो ।

कुमाख गाउँपालिका अध्यक्ष मान बहादुर बुढाथोकीले सरकारले त्रिपाल दिने, अस्थायी आवास बनाउने भन्दा पनि एकै पटक स्थायी संरचना निर्माणमा जोड दिनुपर्ने बताउनुभयो । प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मीले विगतका भूकम्पबाट पाठ सिकेर भूकम्पीय जोखिमबाट बच्न सुरक्षित संरचना निर्माणमा पूर्व तयारी र आवश्यक सचेतना अभिवृद्धि गर्न जरुरी रहेको बताउनुभयो ।

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सल्यानका सभापति यौवन प्रकाश श्रेष्ठले भूकम्पका कारण नभई नागरिकले निर्माण गरेका संरचनाका कारण क्षति हुनुभएकाले भुकम्पप्रतिरोधि संरचना निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष जुना मल्ल चन्द, नेपाली काँग्रेसका पुर्वजिल्ला सचिव रामचन्द्र केसी, नेकपा एमालेका जिल्ला कमिटी सदस्य गणेशमान सिंह, नेकपा माओवादी केन्द्रका गाउँ पार्टी सचिव टोपेन्द्र प्रकाश मल्ल, नेकपा एकीकृत समाजवादीका जिल्ला कमिटी सदस्य गणेश वली, नेकपाका जिल्ला सेक्रेटरी मदन सी, नेपाल पत्रकार महासङ्घ सल्यानका उपाध्यक्ष सरिता चलाउने लगाएकाले बोल्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top