होमपेज / समाज
२३ पुस, २०८० सल्यान ।
सल्यानको बनगाड कुपिण्डे नगरपालिका १ देवस्थलमा रेडियो नेपालको आयोजनामा स्थलगत बहस कार्यक्रम सम्पन्न भएको छ ।
सङ्घीयताका छ वर्ष, कार्यान्वयन, सम्भावना र चुनौती, कुपिण्डे तालको संरक्षण र प्रवर्द्धन, कृषि, शिक्षा, स्वास्थ्य, रोजगारी, विद्युतीकरण लगायतका विषयमा सहभागीहरूले प्रश्न उठाउनुभएको थियो ।
कार्यक्रममा बोल्ने वक्ताहरूले देशमा सङ्घीयता आए पनि जनताले सङ्घीयताको अनुभूति गर्न नसकेको बताउनुभयो । पालिकाहरूबाट कृषिमा लगानी नभएको, शैक्षिक सुधारतर्फ ध्यान दिन नसकेको, कर्णाली प्रदेशकै पर्यटकीय स्थलको रुपमा रहेको कुपिण्डे तालको संरक्षण र प्रवर्द्धनमा ध्यान दिन नसकेको वक्ताहरूको भनाई छ ।

कार्यक्रमका सहभागीहरूले राखेका जिज्ञासाको जवाफ दिँदै बनगाड कुपिण्डे नगरपालिकाका मेयर कर्ण बहादुर बुढाथोकीले जनताको असीमित आकाङ्क्षा र थोरै बजेट हुँदा जनताका सबै मागलाई सम्बोधन गर्न समस्या भएको बताउनुभयो । देशमा राजनीतिक सङ्घीयता आए पनि आर्थिक सङ्घीयता नआउँदा अझै पनि संघीय सरकारकै भर पर्दा विकास निर्माणदेखि मानव संसाधनका कार्य गर्न कठिनाइ भएको बताउनुभयो ।
यस्तै उपमेयर पुरुषोत्तम आचार्यले सङ्घीयता कार्यान्वयनपछि नजिकको सरकारको रुपमा जनतालाई विश्वस्त तुल्याउने प्रयास भइरहेको बताउनुभयो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत जगत बहादुर घर्ती, वडाध्यक्षहरू, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, स्थानीय पत्रकार, नागरिक समाजका अगुवा, समाजसेवी, वृद्धिजिवी, सुरक्षा निकायहरूको उपस्थिति रहेको थियो ।
रेडियो नेपालको प्रादेशिक प्रसारण कार्यालय सुर्खेतको प्राविधिक सहितको टोलीले कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रमको सहजीकरण रेडियो नेपालको प्रादेशिक प्रसारण कार्यालय सुर्खेतका वरिष्ठ अधिकृत भानुभक्त खड्का र सल्यान समाचारदाता दीपक शर्माले गर्नुभएको थियो ।





.jpg)