ट्रेण्डिङ

होमपेज / समाज

सल्यानको कोटमौलामा सुन्तलाबालीमा प्रांगारिक कृषक पाठशाला सञ्चालन

  सल्यान खबर डेस्क २०८० पौष १४ गते शनिबार १४:५०:५५ मा प्रकाशित

पुस १४,सल्यान 
खेतबारीलाई सिक्ने र सिकाउने थलोका रुपमा लिदै सल्यानको बागचौर नगरपालिका ८ र ९ मा  सुन्तलाबालीमा प्रांगारिक कृषक पाठशाला सञ्चालन गरिएको छ । कर्णाली प्रदेश सरकारले पहिलो पटक सुन्तला बालीमा कृषक पाठशाला सञ्चालन गरेको हो । 

खेतबारीलाई सिक्ने र सिकाउने थलोका रुपमा विकास गरी व्यवहारिक तथा नविनतम तौरतरिकाबाट सुन्तला बालीको चक्रको सुरुबाट अन्त्यसम्म सहभागितामूलक तथा समावेशी रुपमा सुक्ष्म अध्ययन यसमा हुने कृषि विकास कार्यालय सल्यानले जनाएको छ । 

साप्ताहिक रुपमा सञ्चालन हुने पाठशालामा सुन्तला खेती गर्ने किसान सहभागि हुने र तिनलाई कृषि प्राविधिकले बालीनाली लगाउने तरिका, मलखादको प्रयोग, रोग किराको प्रकोपबाट बच्ने उपाय, फल टिप्ने तरिका, फलको व्यवस्थापन, फल टिपिसकेपछि बोटको व्यवस्थापन जस्ता विषयमा सहजीकरण हुने कृषि विकास कार्यालय सल्यानका सूचना अधिकारी ईश्वरी नारायण घर्तीले बताउनु भयो । 

कृषकले आफ्नो घरमा रहेको बगैचामा देखिएका समस्या पाठशालामा लिने र कृषक र कृषि प्राविधिकको समन्वयमा पाठशालामा समस्याको समाधानको उपाय खोजिने उहाँको भनाई छ । प्रत्येक साता कक्षा सञ्चालन हुने भएपछि कृषकका सबै समस्या समाधान गर्न सहज हुने  घर्तीको भनाई छ । 

कृषक पाठशालाले कृषि वा कुनै विषयबारे जानकारी बटुल्ने मात्र भन्दा पनि किसानको सिप र क्षमताको विकास गर्नुपर्छ भन्ने मान्यतालाई आत्मसाथ गर्ने वरिष्ठ कृषि विकास अधिकृत भरत कुमार बस्नेतले बताउनु भयो । दिगो कृषिका अभ्यासहरु कृषक पाठशालामार्फत सञ्चालन गर्दै कृषक समूह वा अगुवा किसानहरुलाई दक्ष बनाई कृषिमा आत्मनिर्भर बनाउन यो निकै प्रभावकारी माध्यम रहेको उहाँको भनाई छ । किसानले आफ्नो समस्या पहिचान गर्न, कारण पहिल्याउन र समाधान खोज्न सक्ने सिप विकास गर्ने उहाँको भनाई छ । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top