ट्रेण्डिङ

होमपेज / समाज

समयमै गुणस्तरीय निर्माण कार्य गर्न छत्रेश्वरीमा तीन सय जनालाई अभिमुखीकरण

  सल्यान खबर डेस्क २०८० पौष १ गते आइतबार २०:२२:४८ मा प्रकाशित

सल्यान, १ पुस ।

सल्यानको छत्रेश्वरी गाउँपालिकाले आर्थिक वर्ष २०८०।०८१ को योजना कार्यान्वयन गर्न गठन भएका उपभोक्ता समितिहरूलाई अभिमुखीकरण गरेको छ । ७ वटै वडामा सञ्चालित कार्यक्रममा उपभोक्ता समिति तथा टोल विकास समितिका झन्डै तीन सय पदाधिकारीहरूलाई अभिमुखीकरण गरिएको गाउँपालिकाले जनाएको छ । 

योजनाको स्टिमेट अनुसार गुणस्तर कायम गरेर समयमै पारदर्शी रुपमा निर्माण कार्य सम्पन्न गर्नका लागि अभिमुखीकरण कार्यक्रमले सहयोग पुग्ने गाउँपालिका अध्यक्ष ओज बहादुर बुढाथोकीले विश्वास व्यक्त गरे । सात वटै वडाका टोल विकास समिति अध्यक्षहरू, सबै उपभोक्ता समितिका अध्यक्ष, सचिव र कोषाध्यक्षहरूलाई अभिमुखीकरण गरिएको हो । वडा नम्बर १ मा ५४ जना, २ मा २८ जना, ३ मा ४१ जना, ४ मा १९ जना, ५ मा ५४ जना, ६ मा ४० जना र ७ मा ६३ जना लाई तालिम प्रदान गरिएको गाउँपालिकाले जनाएको छ । 

उपभोक्ता समिति मार्फत सम्पन्न हुने योजनालाई विश्वसनीय र पारदर्शी बनाउन यस प्रकारको तालिम तथा अभिमुखीकरण सञ्चालन गरिएको गाउँपालिका उपाध्यक्ष तथा योजना अनुगमन समिति संयोजक बुद्ध कुमारी खत्रीले जानकारी दिइन् । योजनाहरूको प्रभावकारी कार्यान्वयनका लागि उपभोक्ता समितिहरूलाई नीतिगत र प्राविधिक दुबै पक्षमा विशेष अभिमुखीकरण गराइएको उनको भनाई छ । 

योजना सम्झौताका लागि आवश्यक पर्ने कागजातहरू, उपभोक्ता समितिको काम कर्तव्य र अधिकार, सम्पादन गर्नुपर्ने कामको विवरण, काम सम्पन्न गर्नुपर्ने अवधि, लागत र उपभोक्ताको योगदान, निर्माण सामाग्रीको गुणस्तर र परिमाण खरिद लगायतका विषयमा अभिमुखीकरण गरिएको थियो । 

यस्तै रकम निकासा प्रक्रिया, खर्चको लेखाकंन र अभिलेख व्यवस्थापन, योजना कार्यान्वयन र अनुगमन प्रक्रिया, सार्वजनिक परीक्षण, योजनाको फरफारख र हस्तान्तरण, उपभोक्ता समितिको खाता सञ्चालन र भुक्तानी प्रक्रियाको विषयमा उपभोक्ता समितिका पदाधिकारी एवम् टोल विकास समितिका अध्यक्षहरूलाई जानकारी गराइएको गाउँपालिकाले जनाएको छ । 

लेखा अधिकृत गोविन्दराज विष्ट, प्रशासन शाखा प्रमुख खेम राज बुढाथोकी, योजना शाखा प्रमुख झरण केसी, प्राविधिक तथा पूर्वाधार शाखाका गणेश डाँगी लगायतले अभिमुखीकरण गरेका थिए । गत मङ्सिर २५ गते वडा नम्बर ५ बाट सुरु भएको अभिमुखीकरण कार्यक्रम आइतबार वडा नम्बर १ मा सञ्चालन भयसँगै सम्पन्न भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top