ट्रेण्डिङ

होमपेज / समाज

सल्यानको छत्रेश्वरीमा १० दिने डकर्मी तालिम सुरु, सीप सिक्दै मिस्त्रीहरूले विपन्न घरधुरीमा शौचालय निर्माण गरिदिने

  सल्यान खबर डेस्क २०८० मंसिर २७ गते बुधबार १७:२८:२७ मा प्रकाशित

सल्यान, २७ मङ्सिर ।

१० दिने डकर्मी तालिम बुधवार देखि सल्यानको छत्रेश्वरी गाउँपालिकामा सुरु भएको छ । तालिमको गाउँपालिका अध्यक्ष ओज बहादुर बुढाथोकीले उद्घाटन गरेका हुन् । सबैका लागि दिगो खानेपानी सरसफाइ तथा स्वच्छता आयोजना ९सु स्वा० अन्तर्गत पालिकाभित्रका डकर्मी तालिम प्रदान गर्न लागिएको हो । विशेष गरेर शौचालय निर्माणलाई जोड दिँदै तालिममा संरचना निर्माणका लागि उपयुक्त स्थानको छनौट, नक्सा, संरचना प्रणाली, निर्माण सामग्रीको गुणस्तर, भार बहन पद्धति, निर्माण सामग्रीको प्रयोग लगायतका विषयमा सैद्धान्तिक र प्रयोगात्मक ज्ञान प्रदान गरिने गाउँपालिकाको वास इकाईले जानकारी दिएको छ । 

तालिम अन्तर्गत स्तरीय शौचालय नभएका तथा शौचालय नै नभएका गाउँपालिकाभित्रका २० वटा घरधुरीमा शौचालय निर्माण गर्ने लक्ष्य रहेको वास इकाईका प्राविधिक सहजकर्ता गम्भीर जङ्ग चन्दले जानकारी दिए । उनका अनुसार ती घरहरूमा प्रशिक्षकहरू सँगै सहभागी प्रशिक्षार्थीहरुले शौचालय निर्माण गर्नेछन् । यसले पूर्ण सरसफाइ उन्मुख गाउँपालिका बनाउन सहयोग पुग्ने अपेक्षा छ । 

तालिम उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष बुढाथोकीले तालिममा सहभागी धेरैजसोले विगत देखि नै मिस्त्री काम गरिरहेको भन्दै यसलाई थप निखार्न, नयाँ ढङ्गले निर्माण कार्य गर्नका लागि तालिम महत्त्वपूर्ण हुने विश्वास व्यक्त गर्दै ध्यानपूर्वक सीप सिक्न र दक्षतालाई बढाउन आग्रह गरे ।

तालिमको प्रमुख प्रशिक्षकमा हरि बहादुर खड्का र सहायक प्रशिक्षकमा युवराज खत्री रहेका छन् । सहभागीहरूले बस्ती स्तरमा नै पुगेर प्रयोगात्मक रुपमा भूकम्प प्रतिरोधी संरचना निर्माण बारे पनि ज्ञान र सीप सिक्ने वास सहजकर्ता सुरज वलीले जानकारी दिए । शौचालय बनाउन आवश्यक पर्ने स्थानिय सामग्री बाहेक सिमेन्ट, छड, सिट, जस्ता पाता लगायत निर्माण सामग्री गाउँपालिका ९सु स्वा० बाट नै उपलब्ध गराइने उनले जनाए । डकर्मी तालिममा सम्बन्धित वडाबाट सिफारिस भए अनुसार जम्मा १० जना प्रशिक्षार्थी सहभागी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top