होमपेज / समाज
सल्यान, २६ मङ्सिर ।
ठाडो भिर काट्दै र कडा चट्टान फोड्दै सल्यानको छत्रेश्वरी गाउँपालिकाले दुर्गम बस्तीका लागि मोटर बाटो निर्माण थालेपछि स्थानीयहरूमा उत्साहित भएका छन् । वर्षौँ देखि सडकको सपना बोकेका छत्रेश्वरी गाउँपालिका वडा नम्बर ४ स्थित दुर्गम बस्ती भेरिखोर, आकासी र कालुपहरका स्थानीयहरू कडा चट्टान फोड्दै गाउँपालिकाले मोटर बाटो बनाउन थालेपछि आफ्नो गाउँलाई सडक सञ्जालले जोड्ने अपेक्षामा छन् ।
निकै जटिल भूगोल भएपनी दुर्गम बस्तीमा मोटर बाटो पुर्याउने लक्ष्यको साथ आफ्नै पालिकाको एक्स्काभेटर मार्फत निरन्तर काम गरिरहेको गाउँपालिकाले जनाएको छ । झङ्खानी आकासी हुँदै त्रिवेणी जोड्ने सडक निर्माण भएपछि करिब १५ घरधुरीलाई विशेष लाभ पुग्ने अकासी गाउँ बस्ने खिमे कामीले बताए । ‘गाउँमा तरकारी, जडीबुटी, फलफूल उत्पादन हुन्छ, त्यसलाई बजार सम्म पुर्याउन निकै समस्या भइरहेको छ’, उनले भने, ‘अव बाटो बन्यो भने सजिलो हुने थियो ।’
छत्रेश्वरी ४ को पोखरा सम्म यस अघि मोटर बाटो पुगिसकेको छ । झङ्खानी आकासी हुँदै त्रिवेणी जोड्ने सडक बनेपछि त्यस क्षेत्रका नागरिकहरूको जनजीवन फेरिने गाउँपालिका अध्यक्ष ओज बहादुर बुढाथोकीको अपेक्षा छ । उनले मोटर बाटो निर्माण कार्यको निरीक्षण÷अनुगमन गर्दै निकै जटिल भूगोल भएपनी दुर्गम बस्तीमा मोटर बाटो पुर्याउने लक्ष्यको साथ आफ्नै एक्स्काभेटर मार्फत गाउँपालिकाले निरन्तर काम गरिरहेको उनले बताए ।
८ दिन सम्म एक्स्काभेटरे ब्रेकर मार्फत चट्टान फोडेर करिब १६० मिटर लम्बाई मात्र करिब ४ मिटर चौडाइको सडक निर्माण भएको एक्स्काभेटर अपरेटर प्रेम बहादुर विष्टले बताए । उनले भने, ‘भूगोल एकदमै ठाडो छ, त्यसै माथि कडा चट्टान छ । माथिबाट ढुङ्गा खस्ने जोखिम छ । मैले छधेश्वरीमा काम गर्दै गर्दा सायद हाल सम्मको जटिल भूगोल यही नै होला ।’
स्थानीयहरूले जसरी भएपछि आफ्नो गाउँसम्म सडक बनाउन गाउँपालिकालाई आग्रह गर्दै सडक निर्माण पछि उत्पादित कृषिजन्य वस्तु बजारीकरणमा सहज हुने आशा गरेका छन् । आफ्नो बस्तीमा गोभी, काउली, आलु, अदुवा, टिमुर, कागती उत्पादन हुने जनाउँदै स्थानीय फौद बहादुर खत्रीले चट्टान फोडेर बाटो बनाउन थालेको गाउँपालिकाले यो कामलाई गन्तव्यमा पुर्याउन आग्रह गरे । सडक अभावमा अहिले भिरको जटिल बाटो हिँड्न बाध्य स्थानीयहरूले बिरामीलाई उपचारका लागि लैजान समेत मुस्किल हुने गरेको बताउँछन् ।
भेरिखोर, आकासी र कालुपहरका नागरिकहरू वर्षौँ देखि मोटर बाटोको सुविधा प्राप्त गर्ने आशाले सार्थकता पाउने विश्वास सहित उत्साहित छन् । यो मोटर बाटो निर्माण भएपछि करिब १५ घरधुरीलाई प्रत्यक्ष रुपमा विशेष र अन्य सयौँ घरधुरीलाई लाभ पुग्ने छ । अब भेरिखोर सम्म मोटर बाटो जोड्न करिब १५०० मिटर बाँकी छ ।





.jpg)